नेपालको राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का

काठमाडौं,माघ,२०-एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो ।

नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो।चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ ।

प्रतियोगितामा आयोजना चीन सहित १६ टिमले सहभागीता जनाउनेछन् ।सेन्ट्रल जोन मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनैपनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरि बैठकले निर्णय गरेको हो ।

बाँकी १० राष्ट्रमध्य सेन्ट्रल जोनबाट नियमित प्रतियोगिता खेलिरहेका ईरान, ताजकिस्तान र भारत वरियताका आधारमा सिधै छनोट भएका छन् ।कोभिड-१९ को अवस्था हेरेर एभीसीले प्रतियोगिता हुनु दुई महिना अघि खेल हुने,नहुने विषयमा पक्का गर्ने बताएको छ ।

कोभिडकै कारणले गत फागुनमा विच भलिबल समेत स्थगित बनेको थियो ।गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो । फाईनलमा भारतसंग ३-२ को सेटमा पराजित बनेको नेपालले एतिहासिक रजत पदक भने प्राप्त गरेको थियो ।

साग अघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्ण पदक जितेको थियो । भलिबलको ईतिहासमा सेन्ट्रल जोनमा नेपालले एतिहासिक स्वर्ण पदक हात पारेको थियो ।

महिला टिमको पछिल्लो प्रर्दशनलाई आधार मानेर नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपमा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो ।