बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो

फाईल तस्विर !!

काठमाडौं,कार्तिक,८-आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज(शनिबार) नेपाली हिन्दूधर्माबलम्बीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी मनाउँदैछन् ।

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ।महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ ।

दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

आजका दिन काठमाडौँ उपत्यकासहित मुलुक विभिन्न भागमा रहेका शक्तिपीठमा बलिसहित पूजापाठ गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुने छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ ।

यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ ।

पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

घटस्थापनादेखि विजयादशमीको दिनसम्म दिइने बलि भने निरन्तर जारी रहेको उहाँले बताउनुभयो ।