विमानस्थलमा तडकभडक नगरी विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री

न सेनाको सलामी, न अतिविशिष्ट कक्षको प्रयोग

काठमाडौं,कार्तिक,१३-कुनै पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलमा निकै तडकभडक हुन्छ । सुरक्षा व्यवस्थामा कडाई गरिन्छ । नागरिकलाई आवतजावतमा रोक लगाइएको हुन्छ । विमानस्थलमा औपचारिक कार्यक्रम गर्दै सेनाको टुकुडीले सलामी दिन्छ । र प्रधानमन्त्रीले अतिविशिष्ट कक्षको प्रयोग गर्छन् । यो नेपालमा अहिलेसम्म चलेको परम्परा हो । तर शुक्रबार नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको दृश्य भने फरक थियो ।

प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा पहिलो विदेश भ्रमणमा बेलायत जाँदै थिए । तर उनले विमानस्थलमा न अतिविशिष्ट कक्षको प्रयोग गरे, न सेनाको सलामी । विमानस्थलमा कुनै तडकभडक देखिएन । बरु उनी विशिष्ट कक्षको प्रयोग गर्दै विदेश भ्रमणमा निस्किए । प्रधानमन्त्री देउवाले विमानस्थल पुग्नुअघि नै कुनै तडकभडक नगर्न र सलामीको कार्यक्रम नराख्न निर्देशन दिएको बुझिएको छ । प्रधानमन्त्री देउवाको यो कदमको प्रशंसा भइरहेको छ ।

प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत गएका हुन् । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायू परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन्।

प्रधानमन्त्री नेतृत्वको टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेका छन्।

त्यसैगरी, भ्रमण टोलीमा भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार पनि रहेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।नेपालमंचबाट