व्यवसायीक फुटबलर बर्तमान राई संगको अन्तर्वार्ता (नेपाल)

“एन्फाले मोफसलमा हुने गोल्डकप प्रतीयोगिताहरुलाई व्यवसायीक बनाउदै लानुपर्छ”

काठमाण्डौं,असार,६-

व्यवसायीक फुटबलर : बर्तमान राई

नेपालमा पछिल्लो समय दिन प्रतिदिन फुटबलको क्रेज बढिरहेको छ। व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले केहि सुधारिएको छ।खेलको स्तर उकास्न चाहिने अर्को कुरा भनेको यसको सम्पूर्ण विकासको रणनीति हो ।जब विदेश पढेर नेपाल फर्केका नेपाली विद्यार्थीले नेपालमा सन् १९२१ मा फुटबल भित्र्याएका थिए ।

त्यो बेला देखि नेपालमा पनि फुटबलको क्रेज बिस्तारै बढ्दै गईरहेको छ । २०३२ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थापनापछि नेपालमा फुटबलको आधुनिक युग सुरु भएको थियो ।नेपालले तीन दशक अगाडिदेखि विश्वकप छनोटमा भाग लिंदै आएको छ।तर नेपाल विश्वकप छनोटको पहिलो चरण भन्दा अगाडि बढ्न सकेको छैन। अखिर के कारणले नेपाली फुटबलको विकास हुन नसकेको हो ।

नेपललाई व्यवसायिक फुटबल खेल्ने राष्ट्रका रूपमा विकास गर्न के गर्नु पर्ला । नेपाली फुटबलमा विकास गर्न नसक्नुका कारण र विद्यमान समस्याहरू के के रहेका छन् । यिनै बिषयको सेरोफेरोमा रहेर आज मैले व्यवसायीक ढङ्गले नेपालका विभिन्न क्लवहरुबाट फुटबल खेलिरहनु भएका अनुभवी खेलाडी बर्तमान राई संग कुराकानी गरेको छु । 

अब प्रस्तुत छ उहाँसंग गरिएको कुराकानी जस्ताको त्यस्तै ।।

१. “बर्तमान जि” तपाईलाई बिहानी अनलाईन डटकममा हार्दिक स्वागत छ ?

-धन्यवाद ।

 २. आरामा हुनुहुहन्छ ?

-अहिलेसम्म आरामै छु ।

३. “बर्तमान जी” आज हामीले तपाईसंग नेपाली फुटबलको स्तर माथी उकास्न के गर्नु पर्ला, फुटबलको लागि चाहिने आधारभुत कुराहरु के के होलान् ,यिनै बिषय वस्तुसंग रहेर फुटबल सम्बन्धी समसामयीक केहि कुराकानी गर्न खोजेका छौं । तपाई आफैंमा पनी व्यवसायीक फुटबलर हुनुहुन्छ । यहाँलाई हाम्रो पहिलो प्रश्न तपाईले फुटबल खेल्न कहाँबाट र कसरी शुरुवात गर्नुभयो ?

-शुरूवातमा मैले आफ्नो गाउँ ठाउँ बाट खेले । पछि अध्ययनको शिलाशिलामा धरान आए र यता आए पछि यहिकै स्थानीय साथी तथा दाईहरुसंग फुटबल खेल्न थाले र यहिबाट मैले व्यवसायिक खेलहरु खेल्न थाले ।

४. के कुराबाट फुटबलमा प्रेरित हुनुभयो ?

-गाउँमा नजिकैको विद्यालयको खेलमैदानमा दाईहरुले चाडपर्वको बेलामा वार्ड स्तरीय फुटबल प्रतियोगिताहरु सञ्चालन गरिरहनु रहन्थ्यो । फुटबल हेर्न टाढा टाढाको टोलका मान्छेहरु आउथे । थुप्रैलाई छकाएर गोल लाउने खेलाडी अर्थात राम्रो खेल्ने खेलाडीको नाम लिदै हुटिङ गरेको सुन्थे त्यो देखेर आफुलाई पनि त्यसरी छकाएर गोल लगाउने पाए हुन्थ्यो,राम्रो खेलाडी बन्न पाए हुन्थ्यो, भन्ने कुरा मनमा लाग्थ्यो त्यस पछि यहि कुराले मलाई फुटबल खेल्न प्रेरित गर्यो ।

५. यहाँले थुप्रै गोल्डकपमा भाग पनी लिई सक्नु भएको छ, निकै अनुभवी खेलाडी हुनुहुन्छ, पछिल्लो समय नेपालमा फुटबल खेलको लोकप्रियता बढिरहेको बेला तपाई एउटा व्यवसायीक फुटबलर भएको नाताले नेपाली फुटबलको विकास नहुनुमा के भन्नुहुन्छ ? 

-नेपालमा यकिन साथ यहि कारणले नेपाली फुटबलको विकास नभएको हो भन्न सकिन्न । नेपालको हरेक क्षेत्र तहसनहस छ । राजनीतिक आर्थिक सामाजिक शैक्षिक र प्रशासनिक सबै पक्ष कमजोर छन् भने खेलकुदको झन के कुरा गर्नु ।

६. उसो भए “बर्तमान जी” नेपाललाई एउटा व्यवसायीक फुटबल खेल्ने राष्ट्रको रुपमा विकास गर्ने हो भने सबैभन्दा पहिले नेपालले फुटबलमा, विकास गर्न के गर्नु पर्ला ?

-फुटबलको विकासको मेरुदण्ड मानिएको राष्ट्रिय लिग , बि डिभिजन लिग र सइ डिभिजन लिगको पुरस्कार धनराशिमा वृद्धि गरिनु पर्छ। मोफसलमा आयोजना हुने गोल्डकप फुटबल प्रतियोगिताहरुलाई व्यवस्थित गरि व्यवसायीक बनाइनु पर्छ । ए, बि, र सि डिभिजन लिग खेल्ने सबै क्लबहरलाई लिग तयारीको लागि दिइने तयारी खर्चमा वृद्धि गरिनु पर्छ ।

“ए” डिभिजन लिग खेल्ने क्लबहरुको फुटबल अभ्यास गर्ने आफ्नै खेलमैदान र आवासीय भवन छैन, तसर्थ आवासीय भवन र अभ्यासका लागि चाहिने खेलमैदान निर्माण गर्न एन्फा तथा राष्ट्रले सहयोग गर्नु पर्छ । सर्वप्रथम त: कुनै पनि क्षेत्रको विकास गर्न त्यस क्षेत्रमा आवश्यक लगानी न हो विडम्बना नेपाली फुटलमा लगानी छैन ।

तसर्थ व्यवसायिक फुटबल खेलको रुपमा विकास गर्न नेपाली उद्दमिहरुलाई फुटबलमा लगानी गर्न प्रोत्साहन गर्नु पर्छ । तब मात्रै नेपाललाई युरोपियन शैलिको व्यवसायिक फुटबल खेल्ने राष्ट्रको रुपमा विकास गर्न सकिन्छ ।

७. नेपालमा खेलकुदको विकास गर्न कस्ता खालका नितीहरु निर्माण हुनुपर्छ, जस्तो लाग्छ ?

-मेरो व्यक्तिगत विचारमा , सर्वप्रथम त संघिय प्रदेश तथा स्थानीय स्तरमा खेलकुदका भौतिक पूर्वाधार तथा संरचनाहरुको निर्माण गर्न नीति तथा योजनाहरु तर्जुमा गर्नु पर्ने देखिन्छ । राष्ट्रिय तथा स्थानीय स्तरमा पनि कुनै पनि अन्तर्राष्ट्रिय , राष्ट्रिय , प्रदेश र स्थानीय स्तरको प्रतियोगितहरु सञ्चालन गर्न दीर्घकालीन प्रकृतिको निति निर्माण गर्ने । खेलाडी मैत्री नीति अंगाल्ने । उमेर रहुन्जेल खेल्दा खेलाडीलाई उमेरले साथ दिन छोडे पछि भविष्य कता जाला भन्ने डर एक रति पनि हुनु हुन्न । उमेर बितेपछी राज्यले सम्मानका साथ खेलाडीको श्रम र योगदानको उच्च मुल्यांकन गर्दै बाचुन्जेल सेवासुविधा प्रदान गर्ने निति अवलम्बन गर्नु पर्ने जस्तो लाग्छ । तब मात्रै खेलकुदमा विकास होला ।

८. “बर्तमान जी” तपाई लामो समय देखि व्यवसायीक ढङ्गले फुटबल खेलिरहनु भएको छ, तर के कारणले राष्ट्रिय टिममा छनोट हुन सक्नु भएन ?

-राष्ट्रिय जर्सी लगाएर राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय टिमबाट खेल्ने हरेक फुटबल खेलाडीहरुको धोको हुन्छ, तर सबैको त्यो सपनाहरु पूरा हुन सक्दैन । राष्ट्रिय जर्सिमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय टिमबाट खेल्न नपाउदा कतिपय साथीहरु दु:खी हुनु भएका छन् । मेरै आँखाले देखेको छु । राष्ट्रिय टिममा पर्न असफल हुदा दु:खी हुनु स्वाभाविक हो । हामिले यस प्रसंगमा आश्चर्य मान्नु हुन्न किनकी एउटा राम्रो खेलाडीले राष्ट्रिय टिममा पर्न कति मेहनत र पसिना बगाएको हुन्छ, त्यो त हामि फुटबल खेलाडीले बुझेका छौ । मैले लामो समयदेखी व्यवसायिक फुटबल खेल्दै आए पनि तर म राष्ट्रिय टिममा छनौट हुन सकिन । हो यो सत्य हो । राष्ट्रिय टिममा छनौट हुन त्यती सजिलो कहाँ छ र !!

९. अर्को कुरा “बर्तमान जी” पछिल्लो समय नेपालको फुटबलमा विकास हुन नसक्नुका थुर्पै समस्याका कारणहरु बताईरहँदा, नेपाली खेलकुद जगतमा नातावाद्,कृपावाद एकदमै हावी भएको कुरा पनी बारम्बार उठ्ने गरेको छ, के यो साँचो हो ?

-यो केही हद सम्म साँचो । नेपाली फुटबल विकासमा यो अत्यन्तै ठूलो समस्या वा विकृती हो । यसकै कारण अहिले पनि नेपाली फुटबलको विकास निरन्तर खस्कदो छ । नातावाद र कृपावाद्को कारणले नियुक्ति पाएका अहिले पनि फुटबल नै कहिल्यै नखेलेका हरुको एन्फामा मात्रै नभएर जिल्ला फुटबल संघहरुमा पनि हावी छ। नेपाली फुटबल विकासको गति जुन स्पिडमा हुनु पर्थ्यो त्यो स्पिडमा छैन । हेरौ न नजिकै को मित्र राष्ट्र भारतमा फुटबलको विकासको स्पिड कुन गतिमा छ भनेर । राष्ट्रिय कोच, रेफ्री खेलाडी छनौट लगायत फुटबल हरेक गतिविधिमा नातावाद कृपावाद, यसबाट नेपाली फुटबल विकास इम्पोसिबल छ ।

१०. सरकारले खेलकुद क्षेत्रमा विकासको लागि के गर्दिएको भए राम्रो हुने थियो जस्तो लाग्छ ?

– वास्तवमा भन्ने हो भने फुटबल होस, चाहे अन्य खेल होस, जुन केवल राष्ट्रको इज्जत र प्रतिष्ठाको लागि खेलिन्छ । इज्जत र प्रतिष्ठा भनेको राष्ट्रिय गौरवको कुरा हो । खेलाडी राष्ट्रको गहना हो ।राष्ट्रको इज्जत र प्रतिष्ठा उचो पार्न पसिना बगाउने ती खेलाडीहरुको श्रमको उचित मुल्यांकन होस । अहिलेको परिस्थितिमा भोको पेटमा राष्ट्रको सेवा गर्न सकिन्न । विदेशमा राष्ट्रको इज्जत र प्रतिष्ठा कायम गर्न सफल खेलाडीको सम्मान राष्ट्रिय स्तरको छ । जुन हाम्रो देश नेपालमा पनि हुनुपर्छ ।

११. नेपालमा फुटबल खेल्ने खेलाडीको जिवन कष्टकर छ, तपाई हामी सबैलाई थाहा छ, राम्रो प्रर्दशन गर्ने मिहिनेती खेलाडीहरु विदेशी भुमीमा रोजगारीको शिलशिलामा पलायन भएका छन्, यसलाई रोक्न के गर्नुपर्ला ?

– तपाईले अहिले अत्यन्तै राम्रो र गम्भीर प्रसङ्ग उठाउनु भएको छ ।जसको लागि धन्यवाद भन्न चाहान्छु । यथार्थमा भन्ने हो भने नेपालमा फुटबल खेल्ने खेलाडीहरुको जीवन कष्टकर छ । यो एउटा आर्थिक पाटोको कुरा पनि हो । देशमा फुटबल प्रतियोगिता व्यसायिक भएन भने आर्थिक पक्ष सबल हुनेले त पैसा लगानी गरेर व्यापार व्यवसाय गर्न सक्छ तर सामान्य आर्थिक अवस्था भएको राम्रो खेलाडीले के गर्ने ?

यसकारण एन्फा र सरकारको ध्यानाकर्षण हुन आवश्यक छ । एउटा राम्रो फुटबल खेल्ने खेलाडीले उमेर र शरीरले साथ दिए सम्म फुटबल प्रती आफ्नो जीवन नै समर्पित गर्दै सारा समय नै खर्चेको हुन्छ ।विडम्बना आफ्नो देशमा ठुलो प्रतियोगिता मानिएको सहिद स्मारक लिग नै ४/५ बर्ष रोकियो । जसका कारण राम्रो फुटबल खेल्ने धेरै खेलाडी फुटबलमा भविष्य नदेखेर विदेश पलायन भए । भर्खरै मात्रै सम्पन्न भएको ‘ए’ बि ‘सि’ डिभिजन लिग पनि केवल झारो टार्ने काम मात्रै भयो । ‘ए’ बि ‘सि’ डिभिजन लिगको पुरस्कार धनराशिमा भारी वृद्धि गर्नु पर्छ ।

क्लबहरुले पनि खेलाडीलाई राम्रो पारिश्रमिक र सेवासुविधा प्रदान गर्नु पर्छ ।एन्फाले मोफसलमा हुने गोल्डकप प्रतियोगिताहरलाई व्यवसायिक बनाउदै लानु पर्छ । सातै वटा प्रदेशमा प्रदेश स्तरीय व्यवसायिक लिग सञ्चालन गर्नु पर्छ । त्यसो भए पछि फुटबल खेल्न खेलाडीहरु बर्ष भरी व्यस्त हुन्छन् । त्यहि अनुसार राम्रो खेलाडीहरुले राम्रो पारिश्रमिक प्राप्त गर्छन् । त्यसपछि खेलाडीहरुमा फुटबल खेलेरै जीवन सहज बनाउन सकिन्छ, भन्ने आशा जाग्दछ । स्वत रुपमा राम्रो फुटबल खेल्ने खेलाडी विदेश जान छाड्छ्न ।

१२. एउटा नेपाली फुटबलरलाई फुटबलमा राम्रो करियर बनाउन कत्तीको सजिलो छ ?

-विदेशमा फुटबल खेलेरै आरामदायी जीवन बिताइरहेका छन् । यसले फुटबलमा राम्रो करियर बनाउन सकिन्छ, भन्ने कुरा बुझ्न सकिन्छ । कुरा रह्यो अब नेपाली फुटबलहरुको , अहिले लिग सञ्चालनमा आएको छ, मोफसलमा पनि गोल्डकप नियमित हुन थालेको छ , साथै छिमेकी राष्ट्र भारत, भुटान , मालदिभ्समा पनि गएर खेल्न सकिने हुँदा राम्रो करियर बनाउन सकिन्छ । मात्रै यति हो नेपाली फुटबलरले मेहनत राम्रो गर्नुपर्छ ।

१३. फुटबलमा करियर बनाउन हिडेका धेरै त्यस्ता खेलाडी छन् , उनीहरुलाई के भन्नुहुन्छ ?

-देशको ठूलो प्रतियोगिता सहिद स्मारक लिग सञ्चालनमा आइसकेको छ, साथै ‘बि’ र सि डिभिजन लिग पनि सञ्चालन भइ सकेको छ । तसर्थ फुटबल खेलिरहन सुझाव दिन्छु ।

१४. नेपालका अती दुर्गम गाँउ ठाँउका मेहेनती खेलाडी छन् , जो अझै पनी कपडाको भकुण्डो बनाएर फुटबल खेल्छन् , त्यस्ता खेलाडीका बारेमा के भन्नुहुन्छ ? 

-दुर्गम गाउँमा राम्रा प्रतिभा भएका खेलाडीहरु स्थानीय स्तरमा प्रतियोगिताहरु आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाइरहेको छैन । वास्तवमा यस्तो हुनु हुन्न किनकि प्रतिभा प्रस्फुटन गर्न मौका नपाउदा प्रतिभा मरेर जाने हुन्छ जुन राष्ट्रको लागि घाटा हो । उनिहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसरबाट बञ्चित गरिनु हुन्न तसर्थ एन्फाले पनि दुर्गम गाउँहरुमा प्रतियोगिता तथा ग्रासरुट कार्यक्रमहरु सञ्चालन गरेर प्रतिभाको खोजी गर्नुपर्छ ।

१५. के सम्भावना देख्नुहुन्छ, नेपालमा फुटबल खेलेर “फुटबलमा” करियर बनाउन सकिन्छ ?

-ए, बि, र सि डिभिजन लिग अहिले सञ्चालनमा आएको छ र मोफसलमा हुने गोल्डकपहरुलाई व्यवस्थित गरिन्दैछ । प्रदेश स्तरीय लिग सञ्चालन हुने भएको छ । साथै जिल्ला लिगहरु पनि आयोजना भइरहेको छ । एन्फा र सरकारले यी प्रतियोगिताहरुलाई व्यसायिक बनाउने । तसर्थ नेपालमा फुटबल खेलेर करियर बनाउन सकिने सम्भावना देखेको छु ।

१६. “बर्तमान जी” यहाँले अहिले सम्म विदेशी भुमीमा गएर फुटबल खेल्नु भएको छ कि छैन् ? 

-मैले भारतको दार्जीलिङ र सिक्किममा आयोजना हुने गोल्डकपहरुमा उतैको क्लबबाट फुटबल खेलेको छु ।

१७. नेपाली फुटबल क्लवहरु पुर्ण व्यवसायीक खेलाडीहरुको उत्पादनमा केन्द्रित हुन सकिराखेका छैनन् , यस विषयमा के भन्नुहुन्छ ?

-क्लबहरु आर्थिक रुपले सवल छैनन् । क्लबहरुले एकेडेमी स्थापना गरि खेलाडी उत्पादनमा केन्द्रित नसक्नु पनि कारण आर्थिक पक्ष नै हो । यथार्थमा भन्ने हो भने क्लबहरुले आफ्नै क्लबका लागि एकेडेमी स्थापना गरि खेलाडी उत्पादनमा केन्द्रित हुने पर्ने हो तर क्लबहरुलाई लिग र गोल्डकप खेल्दैमा ठिक्क छ । यो सरासर गलत हो ।

१८. अब यहाँलाई अन्तीम प्रश्न “बर्तमान जी” अन्त्यमा समस्त खेलकुद पक्षलाई सकारात्मक विकाशको बाटोबाट उज्यालो तर्फ डोर्याउनका लागी मैले यहाँलाई सोध्न छुट्याएका प्रश्न भए, र यहाँलाई आजको कुराकानीमा भन्नै पर्ने केहि छन् भने बताईदिनुहोस् न ?

-मैले एउटा भन्नै पर्ने कुरा भनेको के हो भने बलियो र राम्रो राष्ट्रिय टोलि निर्माणको लागि र स्तरीय फुटबल खेलाडी उत्पादन गर्न एकेडेमीहरु स्थापना गर्नु पर्छ । खेलाडी उत्पादन गर्न एन्फाले दुई वटा एकेडेमी सञ्चालनमा ल्याएको छ । तर यो अत्यन्तै थोर भयो । वास्तवमा सात वटै प्रदेशमा सात वटा एकेडेमी स्थापना गरिनु पर्छ । ती एकेडेमीहरुले अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल्ने स्तरीय खेलाडी उत्पादन गर्न सक्छ ।

साथै सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला निर्माण गरिनुपर्छ । विडम्बना भनौ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्न स्तरीय रंगशाला तथा खेलमैदान छैन । तसर्थ सर्वप्रथम त खेलकुदको चौतर्फी विकासका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको खेलकुद पूर्वाधारहरुको निर्माण हुनु पर्छ ।

१९. हुन्छ, “बर्तमान जी” यती व्यस्त समयको बाबजुँद पनी हामीलाई कुराकानी गर्ने समय दिनुभयो,त्यसको लागी यहाँलाई धेरै धेरै धन्यवाद छ ।

– मलाई पनि फुटबलको सम्बन्धमा आफ्नो विचार र भनाइहरु राख्न सुनौलो मौका दिनु भएकोमा तपाईंलाई पनि मेरो तर्फबाट हार्दिक धन्यवाद ।

व्यवसायीक फुटबलर : बर्तमान राई