हिजोका शिक्षकबाट भोलिका शिक्षा कसरी दिने ?

काठमाण्डौं,असार,६-

स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्नै नसकिने बताएका छन् । २० वर्ष पुराना शिक्षकले, नयाँ विद्यार्थीलाई सिकाउनै हम्मे परिरहेको उनीहरुको भनाइ थियो ।

आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘स्थानीय तहका शिक्षाका दुईवर्ष, उपलब्धि र चुनौती’ विषय अन्तक्रियामा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समाज अगाडि बढेपनि शिक्षकले उही बीसवर्ष पुरानो ढाँचामा सिकाइ रहेका बताए । 

‘शिक्षकहरु २७ वर्ष देखि पढाइरहेका छन् । विद्यार्थी किन फेल भए भनेर सोध्यो, यस्तै हो भनेर भन्छन् ।’ नगर प्रमुख चालिसेले भने– ‘विव्यस निरिह छत्यस्ता शिक्षकलाई न कार्बाही गर्न सक्छ नत अवकाश दिन सक्छ ?’ नगरले पनि शिक्षकलाई कार्बाही नगर्ने हो भने सामुदायिक विद्यालयको सुधार कहिल्यै गर्न नसकिने उनको भनाई थियो ।

गएको २ वर्ष शिक्षकलाई सम्झाउँदैमा बितेको भन्दै नगरप्रमुख चालिसेले अब ठाउँका ठाउँ कार्बाही गरिने स्पष्ट पारे ।बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले शिक्षक र कर्मचारीका कारण २ वर्षमा शिक्षामा चाहेर पनि कुनै सुधार गर्न नसकेको बताए । ‘शिक्षकहरु अल्छि भए, कर्मचारी निकम्मा ।’ नगरप्रमुख खरेलले भने ।

‘केही नजान्ने अनुभव वीहिन कर्मचारी शिक्षामा आउने, हाजिर नगराउँ सरकारलाई असहयोग गरेजस्तो हाजिर गराउँ पारै लाग्दैन । पछिल्लो दिनमा बल्ल केही बिसेक कर्मचारी आएका छन्।स्थानीय समुदायका ५० प्रतिशत बालबालिकालाई सामुदायिकमा भर्ना गराउने गरी काम भइरहेको खरेलले जानकारी दिए । 

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सामुदायिक विद्यालयमा बालबालिका पठाउन आग्रह गर्दा उनीहरुले २५ वर्ष पुराना शिक्षकहरुलाई सार्न भनेपछि एकैपटक ५४ शिक्षकहरुको पालिकास्तरीय सरुवा गरिदिएको बताइन् ।

विव्यसमा समस्या देखेपछि सबै विद्यालयको विव्यस अध्यक्ष परिवर्तन गरिदिएको उहाँको भनाइ थियो । ‘२ विद्यालयले अदालतमा मुद्दा दायर समेत गरे तर, हाम्रो असल उद्देश्य देखेपछि अदालतले पनि मुद्दा जिताइदियो’– बस्नेतले भनिन् ।मेलम्ची नगरपालिकाका वडाध्यक्ष सुदर्शन लुइटेलले नगरको सिकाइ सुधारका लागि शिक्षकमा सुधार गर्न नगरपालिका कम्मर कसेर लागेको बताए ।

जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नारासहित बढी रहेका विद्यालयबाट शिक्षकलाई कम भएको स्थानमा सरुवा गर्न र जागरुक बनाउन अभियान थालिएको उनले स्पष्ट पारे ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले नपढाउने शिक्षकलाई कार्बाही गर्ने, हटाउने अधिकार स्थानीय तहलाई भएको बताए ।

स्थानीय तहहरु शिक्षकको पालिकास्तरीय सरुवा गर्न डराउनु नपर्ने भन्दै तर राम्रै भएपनि असजिलो पार्नका लागि मात्रै सरुवा भने नगर्न सुझाब दिए ।एउटा तहले शिक्षामा गरेका राम्रा अभ्यास अर्काले सिक्नुपर्नेमा जोड दिँदै सचिव कोइरालाले स्थानीय तहरुले गुणस्तर कायमगरी जनतालाई सेवा प्रवाह गर्नुपर्ने स्पष्ट पारे । राज्यले शिक्षा र स्वास्थ्यमा बढी लगानी गरेपनि प्रतिफल कम आएकाले यस क्षेत्रको बहस बढी हुने गरेको यादवले बताए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकलाई सरुवा गरेर शिक्षामा गुणस्तर आउँछ भन्ने धारणा त्याग्न स्थानीयतहहरुसँग आग्रह गरे । स्थानीय तहले पुराना सरुवा गरेर करारमा नयाँ शिक्षक राख्दैमा शिक्षामा गुणस्तर नआउने स्पष्ट पारे । संविधानको अनुसुची ८ मात्रै नहेरी ९ लाई पनि हेर्न सरोकारवालाहरुसँग उनको आग्रह थियो ।

शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नियति, यात्रा र गन्तव्य पहिचान भएमात्रै राम्रो नतिजा आउने भन्दै अहिलेको मूल समस्या गन्तव्य पहिचानमा रहेको बताए । शिक्षक लामो समय एकैठाउँमा बस्दा शिक्षा बिग्रियो चलाए सुधार हुन्छ भन्ने भन्दापनि शिक्षाको गन्तव्य सुनिश्चित गर्न उनको आग्रह थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले नराम्रा शिक्षक सरुवा गरेर मात्रै समस्या समाधान नहुने बरु उनीहरुलाई सुधार गर्न्तिर लाग्नुपर्ने बताए । सरुवा गर्दैमा चौपटै सुधार नहुने भन्दै पौडेलले नराम्रा शिक्षक कहाँ पठाउने, कसले लिन्छ भन्दै प्रश्न गरे ।

अझैपनि आधा स्थानीय तहमा शिक्षाका कर्मचारी पुर्याउन नसकिएकाले समस्या आएको उनको भनाइ थियो ।कार्यक्रममा वरिष्ठ पत्रकार राजन शर्माले स्थानीय तहमा भएका शिक्षाका राम्रा अभ्यासहरु प्रस्तुति गरेका थिए ।