पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं,माघ,२३-बहुचर्चित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले विधेयकमा व्यवस्था गरेको पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्थालाई हटाएर मिडिया काउन्सिल विधेयक पारित गरेको हो ।

विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पेसागत शुद्धता र मर्यादाका लागि लाइसेन्सको विषय उठेको भन्दै सबैको सहमतिको लागि व्यवस्था हटाइएको जानकारी दिनुभयो ।

सरकारले विधेयक संसदमा दर्ता गरेलगत्तै प्रेस तथा वाक स्वतन्त्रता कुण्ठित हुनेगरी विधेयक ल्याइएको, जरिवानाको व्यवस्थालगायतका विधेयकका प्रावधानप्रति आमसञ्चार क्षेत्र, मानवअधिकारवादी तथा नागरिक समाजले विरोध गरेका थियो ।

विधेयकका प्रावधानप्रति चौतर्फी आलोचना भएपछि विधेयकका विवादित प्रावधान हटाउन सरकार बाध्य भएको थियो ।