प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, चैत ९-  निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न निर्देशन दिएको छ ।आयोगको आज दिउँसो बसेको बैठकले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा कुनैपनि देशको भ्रमणमा नजान निर्देशन दिने निर्णय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको बोआओ सम्मेलनमा सहभागी हुन बिहीबार भोलि राति चीन जाने तयारी गरिरहेकोबेला निर्वाचन आयोगले भ्रमण स्थगित गर्न भनेको हो ।

आयोगले विदेश भ्रमणमात्रै नभइ निर्वाचन सम्पन्न नभएसम्मका लागि कुनैपनि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमणको प्रयोजनका लागि हुने विदेश भ्रमणका कार्यक्रम स्थगित गर्न पनि निर्देशन दिएको छ ।गत फागनु २८ गते सरकारका मुख्यसचिव सोमलाल सुवेदीसमेत सहभागी आयोगको बैठकले विदेश भ्रमणलगायतका कार्यक्रम गर्न नपाउने निर्णय गरेको थियो ।

आगामी वैशाख पहिलो साता स्थानीय तहहरुमा निर्वाचन कार्यालय खुल्ने भएकाले आवश्यक बन्दोबस्ती मिलाउन स्थानीय विकास मन्त्रालयलाई निर्देशन पनि दिइएको छ भने स्थानीयस्तरमा संकलित हतियारहरुको विवरण चैत ११ गतेभित्र आयोगमा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।