चलचित्र “कुम्भ करण “को टिमले आइतबार फुट्सल खेल खेलाउँदै

नेपालगन्ज,जेष्ठ,११-


जेष्ठ १७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र “कुम्भ करण” टिमले फुटसल खेल खेलाउने भएको छ।

राजधानी स्थित सेतोपुलमा रहेको फुटसल मैदानमा चलचित्र टिमले आइतबार(भोलि) फुटसल खेल खेलाउने भएको हो। टिमका अनुसार आइतबार दिउँसो १ बजेदेखि खेल सुरु हुनेछ। साथै खेलमा चलचित्र “कुम्भ करण”को टिम, पत्रकार ,होस्टेल टिम र कलेज टिमले सहभागिता जनाउन सक्ने चलचित्र टिमले जानकारी दिएको छ।

चलचित्रको प्रचारप्रसारका लागि निर्माण टिम कलेज-कलेजमा हिडिरहेको बेला प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त फुटसल खेलको आयोजना गरिएको हो। खेलमा सहभागीको लागि निमन्त्रणा स्वरुप चलचित्र टिमले एक पोस्टर समेत तयार पारेको छ।

दिपक वली निर्देशित उक्त चलचित्र एक ग्रामीण विद्यालयका शिक्षक-शिक्षिकाबिचमा हुने प्रेम सम्बन्ध, द्वन्द र सस्पेन्समा आधारित रहेको छ।
आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित
उक्त चलचित्रमा निशा अधिकारी, भोलाराज
सापकोटा, गौरव पहारी , अभय बराल संगै आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापा लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ।

 महेश दवाडीको कथा,पटकथा तथा संवाद रहेको उक्त चलचित्रमा हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत रहेको छ । चलचित्रलाई चित्रबहादुर घर्तिमगर, क्षितिज बस्नेत र चुपनिधि रिजालले संयुक्त रुपमा निर्माण गरेका हुन भने चलचित्रको कार्यकारी निर्माता रोम ओली रहेका छन।