काठमाण्डौं,बैशाख,१३-विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट नेपाली फुटबलको निकाय अखिल नेपाल फुटबल संघले ५ लाख अमेरिकी डलर पाउने भएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उदेश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो ।
फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।फिफाले राहत कोषबाट आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई कुल १ सय ५० विलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरिने जनाएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पहिलो चरणमा सर्वाधिक धेरै प्रभावित राष्ट्रलाई आर्थिक सहयोग प्रदान गरिने बताएका छन् ।
‘यस महामारीले सम्पूर्ण फुटबल समुदायका लागि अभूतपूर्व चुनौती निम्त्याएको छ र विश्वको सर्वोच्च निकायको हैसियतमा त्यहाँ उपस्थित हुनु र गम्भीर समस्याको सामना गरिरहेकालाई समर्थन गर्नु फिफाको कर्तव्य हो,’ अध्यक्ष इन्फान्टिनोले भने, ‘सुरुवातमा गम्भीर आर्थिक समस्यामा रहेका संघहरुलाई तत्काल वित्तीय सहायता प्रदान गर्नेछौँ ।’
कोरोनाको कारण आफ्ना सदस्य राष्ट्रमा घरेलु लिग र फुटबल गतिविधि ठप्प हुँदा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको कारण आर्थिक सहायता प्रदान गर्न लागिएको फिफाले जनाएको छ ।
फिफाबाट आएको आर्थिक रकम सम्बन्धित संघले आफ्ना कर्मचारीको तलबमा खर्च गर्नु पर्नेछ ।
कोरोनाको कारण नेपालमा चलिरहेको बी डिभिजन लिग स्थगित गरिएको छ । यस्तै सी डिभिजन र महिला लिग समेत तत्काल नहुने भएको छ ।
यस्तै मोफसलको सम्पूर्ण प्रतियोगिता समेत स्थगित भएको छ ।विश्वभर कोरोनाले झन्डै २ लाख मानिसको ज्यान गईसकेको छ । नेपालमा ४९ जना कोरोना संक्रमित रहेका छन् ।खेलपाटीबाट