कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

सेवा-सुविधा रोक्का

काठमाण्डौं,असोज,२७-

निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।जसबाट उनीहरूले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्।

निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादीकेन्द्र)बाट दाङ २ बाट निर्वा्चित हुन् ।

यसैबिच : संसद सचिवालयले आज सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो ।रौटहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई अनुसन्धानका लागि हिजो प्रहरीले पक्राउ गरेको थियो ।पहिलो संविधानसभाको निर्वाचनको क्रममा २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको  हो ।

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।निलम्बन्मा परेसँगै आलमको सेवा सुविधा रोक्का भएको छ । उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् ।

मुद्दा अवधिभर उनी सांसदबाट निलम्बित हुनेछन् भने दोषी ठहर भए पद नै जानेछ ।दोषी ठहर नभएसम्म उनी सांसदको लोगो लगाएरै जेलमा रहनेछन् ।दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ को दफा २४४ को उपदफा ३ बमोजिम फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा कुनै कार्य गर्न कुनै उन्मुक्ति वा अधिकार प्राप्त नहुने उल्लेख छ ।नियमावलीले त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था गरेको छ ।