नेपाली क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले दिए राजीनामा

काठमाडौं,असोज,२८-

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।नेपाली क्रिकेटले भर्खरै निर्वाचित बोर्ड पाएको र अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालकाे निलम्बन फुकुवाकाे प्रक्रिया अगाडी बढाएकाे दाेस्राे दिन नै कप्तान पारसले कप्तानी छाेडेकाे बताएका छन । नेपाली क्रिकेटका सफल कप्तान पारसकाे याे निर्णयले क्रिकेट जगत नै चकित परेकाे छ ।

आज आफ्नो ट्वीटर ह्याण्डल बाट उनले राजीनामा गरेको घोषणा गरेका हुन् ।नेपाली क्रिकेटको निलम्बन फुकुवा भएकोमा खुशी व्यक्त गर्दै नेपाली क्रिकेट, खेलाडी र यसका अरु पक्षमा राम्रो गर्न उनले नवनिर्वाचित कमिटीलाई शुभकामना पनि दिएका छन् ।

त्यसै ट्वीटमा उनले थप लेखेका छन्, ‘मैले नेपाली क्रिकेट टीमको कप्तानबाट राजीनामा दिने निर्णय गरेको छु । जय नेपाल !’

सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारस विनोद दासपछि नेपाली टिमकाे नेतृत्व गर्दे अाएका थिए । उनले पहिलाेपटक एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।