प्रवासी लोक गायक चन्द्र दर्लामी मगर संगको अन्तर्वार्ता (कोरिया)

फुकुओका,जापान,साउन,९-

प्रवासी लोक गायक चन्द्र दर्लामी मगर

नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीको शिलसिलामा सयौंको संख्यामा यूवा जनशक्तीहरु विदेश पलायन भैईरहेका छन् । विदेशी भुमीमा जती सुकै व्यस्त भएता पनी जतीसुकै दुख कष्ट भोग्नु परेपनी मानीसले आफूले गर्न चाहेको काम गरिरहेका हुन्छन् । यस सन्दर्भमा मैले आज वैदेशिक रोजगारीको शिलशिलामा कोरिया ८ वर्ष बसि सक्नु भएका स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा नम्बर तीन खाङराङ घर भएका प्रवासी लोक गायक चन्द्र दर्लामी मगर संग वैदेशीक रोजगारीमा भोग्नु पर्ने दुख कष्ट र वैदेशिक रोजगारीमा जानु पुर्व सिक्नु पर्ने कुराहरु र उहाँको लोक संगितको यात्रा विदेशी भुमिमा बसेर कसरी चल्दैछ । यीनै विषयमा आधारित रहेर कुराकानी गरेको छु । 

अब प्रस्तुत छ उहाँसंग गरिएको कुराकानी जस्ताको त्यस्तै !

१. “चन्द्र दर्लामी मगर” जी तपाईलाई बिहानी अनलाईन डटकममा हार्दिक स्वागत छ ? 
– धन्यवाद छ यहाँ लाई !

२. आराम हुनुहुन्छ ?
– हजुर आराम छु ।

३. कस्तो चल्दैछ, यहाँको आजभोलीको जिन्दगानी ?
– परदेशी भुमिमा छु। दिनभरी ड्युटी गरेर बिताउछु अनि फुर्सद मिल्ना साथ उहीँ त हो फेसबुक हेर्ने अनि यूटुब मा नयाँ नयाँ गित भिडियो हेरेर बित्छन मेरा दिनहरु।

४. “चन्द्र जी” आज हामीले तपाईसंग वैदेशीक रोजगारीको शिलशिलामा भोग्नु पर्ने भोगाई र सिक्नु पर्ने सिकाई सम्बन्धीका कुराहरु र यहाँले अहिले सम्म जिन्दगीमा गर्नु भएका आरोह अबरोहका साथै यहाँको लोकसंगितको यात्रा कस्तो चल्दैछ, यीनै बिषय वस्तु संग रहेर आज मैले तपाई संग कुराकानी गर्नेछु । अब लागौं प्रश्न तर्फ “चन्द्र” जी यहाँलाई हाम्रो पहिलो प्रश्न तपाईको बाल्यकालको जिवनी बाटै सुरुवात गर्न चाहान्छु, यहाँको बाल्यकालको जिवन कसरी बित्यौ ? 
– हजुर यहाले मेरो बाल्यकालको बारेमा जान्ने उत्सुकता देखाउनु भयो। म निम्न वर्गीय परिवारमा जन्मेको एक किसानिको छोरो हो। मेरो बाबा खेती किसान गर्नुहुन्थ्यो र अहिले पनि गर्दै हुनुहुन्छ। त्रिहत्तर वर्षीय मेरो बाबा अहिले पनि हलो जोत्नु हुन्छ, घाँस काट्नु हुन्छ, खेत वारि सम्बन्धि सब काम गर्नुहुन्छ। म पनि त्यही परिवेश देखि हुर्केको मान्छे हुँ। निम्नस्तर भएको कारणले पनि बालापन त्यति सुखिलो त थिएन् तर बाबा आमाको काख र माया देखि कहिल्यै वन्चित आज सम्म हुनु परेको छैन।

हामी छोराछोरीको पढाईको लागि बाबाले हर दुख गर्छु भन्नुहुन्थ्यो। म पनि पढाईमा तेजिलो त होइन सामान्य रुपले ठिकै थिए। त्यही हो बाल्य अवस्थामा साथिहरु सग गाई बाख्रा खोला जङ्गल तिर लगेर चराएर नै बित्यो। अनि गोठको काम गर्ने जिम्मा मेरो थियो, भैसिको दूध दुहुने, भकार सोहोर्ने अनि फुर्सद मिल्ना साथ चौतारीमा गएर खुब लोक गित गाउथे। अलि छुचो स्वभावको म प्याच्च बोल्ने बानिले बालापन देखि गाली खाएको छु । हा.हा.हा.हा.हा.हा !

५. पढ्दा पढ्दै के कारणले रोक्नु भयो आफ्नो पढाईलाई ?
– म जब एस एल सी पास गरे अनि पोखरा झरेको हो। १२ कक्षा पढ्दा पढ्दै मेरो पढाइ रोकियो। यसै बिचमा म साङ्गितिक क्षेत्र नि मन पर्ने हुनाले त्यता तिर नि लागे। त्यही हुनाले पढाइलाई निरन्तरता दिन सकेन। मेरो बाबा र मेरो ठुलो दाईले मलाई धेरै पढाउने चाहाना राख्नु भएको थियो पूरा गर्न सकिन क्षमा माग्न चाहान्छु उहाहरुलाई। र मेरो एउटा सानो ब्यवसाय पनि थियो हजुर।

६. पढाई छोडेपछि व्यवसाय तर्फ लाग्नु भएको रहेछ । के सम्बन्धी व्यवसाय गर्नु भएको थियो ?
– पढाईलाई त्यति महत्त्व दिन नसकेपछी ब्यापार तिर हात हालेको हु। स्टेसनरीको सानो पसल थियो। मेरो कान्छी दिदी र भाइ म सगै बस्दै आएका थियौ। दिदी भाइ कलेज आइजाई गर्ने म पसले भएर बस्थे। समग्रमा ठिकै नै थियो व्यापार पनि

७. उसो भए “चन्द्र” जी व्यवसाय पनी राम्रै चल्दै रहेछ, जसोतसो जिन्दगी चलीनै रहेको थियो होला, के कारणले जन्मभुमी छोडेर विदेश पलायन हुनुभयो ?
– हजुर यहाले निकै राम्रो प्रश्न तेर्साउनुभयो। मेरो माहिला दाई बिदेशमै हुनुहुन्थ्यो। कोरियामा। हामी नेपाली उहीँ त होनि जसले जे भन्यो त्यतै तिर लाग्ने। कोरियन भाषा खुलेछ भन्ने सुनेर साथिहरु संग पढ्न गएको हुँ। पुग नपुग तीन महिना कक्षा लिएर पढेको हुँ। मेरो लक्ष्य विदेश गएर पैसा कमाउछु भन्ने थिदै थिएन। तर भासा पढिसकेपछी पास हुनै पर्छ भन्ने थियो।

मेरो दाईहरुले विदेश नजा विदेश गार्हो छ भन्नुहुन्थ्यो। काठमाडौ तिर गएर ब्यापार गर भन्नुभएको थियो। साथिहरु सगको सङ्गतले कोरियन भाषा परिक्षा दिएर उतिर्ण पनि भए। साथमा भिषा पनि एकदमै चाडो लाग्यो। अझै पनि त्यो पल याद छ मलाई ६ दिन मात्र बिहे गरेर छोडेर हिडेको हुँ मेरो श्रीमतीलाई। रोगी मेरि आमा र बाबाले रुदै बिदाईको टीका लगाईदिएको क्षण कहिल्यै बिर्सन सक्दिन।

८. कती वर्ष भयो कोरिया जानु भएको ? कोरियाको कुन ठाँउमा हुनुहुन्छ ?
– हजुर म कोरिया आएको आठ वर्ष बढी भैसक्यो। र म कोरियाको आनसान भन्ने शहरमा बस्छु।

९. “चन्द्र जी” तपईले त एउटा कोरियाको निकै दुख कष्ट भोगि सक्नु भएको अनुभवी व्यक्ती पनि हुनुहुन्छ, पछिल्लो समय रोजगारीको शिलशिलामा नेपालबाट कोरिया हजारौंको संख्यामा आउने गरेका छन् । तर यहाँले देखेको र भोगे अनुरुप कोरिया आउन चाहानेका लागि पहिले के सिक्नु आवश्यक छ, के भन्नुहुन्छ ? 
– हजुर कोरियामा मैले झण्डै नौ वर्ष बिताई सकेको छु। पहिला लहै लहैमा नै कोरिया आइयो। सोचेको जस्तो कोरियामा छैन। यहाँ एकदमै काम गार्‍हो हुन्छ नै। हरेक समयको ख्याल गरिदो रहेछ। कम्पनी भित्र छिरिसके पछि आर्मी सिस्टम हुँदो रहेछ । यिनिहरुको भाषामा ” पाल्ली पाल्ली” छिटोछिटो गर, ” मानि मग” धेरै खाउ यिनिहरुको नारा जस्तै हो। नेपाल देखि आउनेहरुले पहिलो कुरा त एकदमै सोचेर आउन पर्छ अनि पैसैलाई ठूलो सम्झेर भन्दा पनि कुनै सीप सिकेर नेपाल भित्राउन सक्ने खुबी बनाउछु भन्ने सोच बनाएर आउनु पर्छ। अनुशासन र भासालाई पोख्त बनाएर आउनै पर्छ नत्र कोरियामा गार्हो छ।

१०. मैले यस मै जोड्न चाहे अर्को कुरा “चन्द्र जी” कोरियामा कोटा अनुरुप नै कामदार लग्ने गरिन्छ, त्यहाँ जानुपुर्व जसरी यो यो काम गर्नु पर्छ, त्यो गरे वापत यती रकम मिल्छ, भनेर जुन सहमती गरिन्छ, जनगुनासो त अली फरक छ, वास्तविकता चाँहि त्यहि नै हुन्छ, कि फरक हुन्छ ?
– काम त जे हो त्यही गर्न पर्छ। मेरो भोगाईमा म जुन कामको लागि आएको थिए त्यही गर्दै छु। र तलब रकममा अहिलेसम्म तलमाथि भएको कत्ती छैन। तर कम्पनीको पनि आफ्नो नियम हुन्छ। कहिलेकाही सामान बढी निकाल्नु पर्दा अलि अबेरसम्म काम गर्नुपर्ने हुन्छ अनि कहिलेकाही बिहान छिटो पनि।

नत्र अरु कम्पनीको मागलाई समयमा पूरा गर्न सकेन भने कम्पनी त्यति चल्दैन। अर्को कुरा हामी नेपाली कम्पनीमा काम राम्रोसँग गर्नभन्दा पनि तलबको हिसाब गरिन्छ। भलै सबै कम्पनी गतिलो नै नहुन सक्छ। सुनेको थिए मैले पनि कुनै कुनै कम्पनीले कामदार माथिको अभद्र ब्यवहार समयमै तलब नदिने, चाहिने भन्दा बढी काम लगाउने यस्तै यस्तै। सयमा एउटा कम्पनी यस्तो हुनसक्छ।

११. त्यसको समाधानको लागि सम्बन्धीत निकायलाई के भन्नुहुन्छ ? 
– हामी फेरि यो जन गुनासो दिन माहिर छौ हेर्नुस। दोस अरुलाई दिएर हामी चोखिने परम्परा छ। यदि आफुलाई कम्पनीले के कारणले अप्ठ्यारोमा पारेको छ, त्यो कुरा लिएर सम्बन्धीत निकायमा जानै पर्छ नत्र अरु ठाउँ हुदैन। यहाको पनि श्रम बिभाग छ, त्यहा गएर उजुरी दिए श्रमिकको समस्या हेरिदिन्छ। तपाईले सुने जस्तो कोरिएन हरु त्यति नै निर्दयी अलि छैन कि हजुर ?

१२. जस्तो कि “चन्द्र” जी खाडी मुलुकका राष्ट्रमा नेपाली कामदारले दर्दनाक दु:ख पाईरहेका हुन्छन्, सुरक्षीत हुदैंन्, कोरियामा नेपाली कामदार कती सम्म सुरक्षीत छन् ?
– खाडी मुलुकमा मैले पनि सुन्नमा आएको बढी मात्रामा कामदार असुरक्षित हुन्छन रे। यो देशमा चाहिँ त्यस्तो असुरक्षित भन्ने छैन। रातको बाह्र एक दुई बजे बकाईदा महिला या पुरुष एकलै हिड्न सकिन्छ। बिना गल्ती यहाँ कसैले केही गर्दैनन। यदि गरिहालेमा प्रहरी पाच मिनेट भित्रै आइपुग्छ। डर त्रास भन्ने छैन यहाँ।

१३. धेरै नेपालीहरु प्रवासमा बस्दछन्, उनीहरुको वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन यहाँलाई सरकारले के गरिदिएको भए राम्रो हुने थियो जस्तो लाग्छ ? 
– हजुर, पहिलो कुरा त सरकार जुन आए पनि अहिलेसम्म असफल मात्रै भए जस्तो लाग्छ। हामी जस्तो युवा विदेशमा बेचिनु परेको छ। यो एकदमै दुखद् हो। हामीले प्रदेश आइसके पछि धेरै नै कुरा सिक्ने अवसर पाईयो। पहिलो कुरा आफुमा सीप त हुनै पर्छ, अनि प्रबिधी भित्राउन सकियो भने नहुने भन्ने नै हुदैन। तर नेपालमा त्यो वातावरण नै छैन।

सरकार आफै निष्क्रिय जस्तो लाग्छ। सरकारले काम गर्ने १०० प्रतीशत वातावरण मिलाई दिए म भोलि भर्खरै नेपाल आएर केही त पक्कै गर्थे। तर बिडम्बना नेपालमा डन भनाउदाहरुको हालिमुहाली हुदोरहेछ। जब सम्म यस्तो भैरहन्छ नेपालमा केही हुन सक्दैन। अर्को कुरा हामी जनतामा पनि अनुशासन र शैली हुनै पर्छ।

१४. अब “चन्द्र” जी वैदेशिक रोजगारबाट स्वदेश फर्केका कामदारहरूको पुनर्स्थापना सम्बन्धमा राज्यबाट पर्याप्त नीतिहरू जारी हुँदाहुँदै पनि त्यसलाई राम्रो संग कार्यान्वयन गरेको पाईदैन,यस विषयमा यहाँको धारणा के छ ?
– राज्य सग नीति मात्र छ अरु केही छैन। नियम र नितिको पालना नगर्नु हाम्रो दोश हो यसको कार्यन्वयन गर्न नसक्नु राज्य र सरोकार वालाको ठूलो कमजोरी हो। हामी सग यथेष्ट मात्रामा नीति नियम छ तर पालना छैन। समग्र रुपमा भन्नुपर्दा हाम्रै स्वार्थीपनले हामिलाई दिनानुदिन पछाडी धकेलिरहेको छ। राज्यले पनि हामी जस्तो श्रमजिवी बैदेशिक श्रमिकलाई नेपालमै पुनर्स्थापना गर्नको लागि जिउधनको सुरक्षा जिम्मा अनि काम गर्ने वातावरण बनाइदिनु पर्छ। यसो गरे हामी भोलि फेरि फेरि विदेशमा झोला बोकेर भौतारिनु पर्दैन थियो भन्ने लाग्छ मलाई।

१५ . कहिले सम्म फर्किनु हुन्छ नेपाल ! स्वदेश फर्किसकेपछि के गर्ने सोचमा हुनुहुन्छ, कुनै भावी योजना बनाउनु भएको छ ?
– सायद म अब दुई वर्ष भन्दा बढी बस्दिन होला। र पनि हर कुरा भोलिको दिनले बताउने कुरो हो, किटानै गरेर भन्न त सक्दिन। स्वदेश फर्केसी मैले यहाको सिपलाई नेपालमा उतार्न सके भने भन्ने कुरो हो। तर धेरै गाह्रो छ यसको लागि म सग प्रयाप्त मात्रामा पुजि चाहिन्छ जुन म सग छैन र अर्को कुरा यस्तो काम एक्लैले गर्न पनि सकिन्न। साथी पाए गर्छु भन्ने हो नत्र आफ्नो पुजिले भ्याएसम्म सानोतिनो ब्यावसाय गरेर बस्छु भन्ने सोच छ। हेरौ कस्तो हुन्छ ।

१६. “चन्द्र जी” यो त भयो यहाँ स्वयमले वैदेशिक रोजगारी सम्बन्धी भोग्नु भएका कुराहरु ! अब म यहाँको अलकती संगितमय जिवन प्रतिका कुराहरु खोतल्न चाहान्छु, निकै सुमधुर स्वरको धनी हुनु हुदो रहेछ, गितसंगित प्रती निकै नै रुची राख्नु हुन्छ, आखिर कालाकारिता पेशालाई चाँहि अंगालेर किन नलाग्नु भएको हो ?
– धन्यवाद छ यहाँलाई सुमधुर स्वरको धनी भनिदिनुभयो। मेरो गित गाउने बच्चै देखिको सौख हो। उ बेला रेडियोमा गित बज्ने बित्तिकै सगसगै गित गाउथे विशेष गरेर लोक गित। सायद आफ्नै ठाउको हावापानी र माटो बोलेको भएर होला लोक गित सुन्न र गाउन मजा लाग्दछ। अरुको लागि भन्दा पनि म प्राय आफ्नो लागि गित गाउछु।

गित गाएर आफुलाई हलुका महसुस गर्छु। म विदेशमा छु र पनि गित सङ्गीतलाई उत्तिकै माया गर्छु। म गित बिना टाढा हुनै सक्दैन। गत साल नेपाल जादा मेरो भाइ एडिसन दर्लामी मगरको लय तथा सब्दमा सिर्जित एउटा मौलिक सालैजो पनि गाएको थिए। नेपालमा भएनी विदेशमा रहेनी कलाकारितालाई त्यागेको छैन।

१७. अहिले सम्म कतीवटा एल्वम निकाल्नु भयो । नाम सहित बताईदिनुहोस् न ?
– हजुर अहिले सम्म मेरो तीन वटा एल्बम निस्किए। अगाडिको दुईवटा एल्बम निस्किए मात्र त्यसले बजार ब्यवस्थापन हुनै पाएन। अहिलेको सालैजोले बजार पाएर थोरै मात्रमा भएनी मैले नि माया पाए। स्वरमा मेलोडी राम्रो छ भनिदिनुहुन्छ धेरै सुभचिन्तकहरुले खुसी लाग्छ। मैले निकालेका एल्बम हरु ” चट्टै कम्मरमा” “गल्ती कुनको” र सालैजो ” बैना रुमाल” हो।

१८.निकै नै मौलीकता बोकेको यो सालैजो भाकाको बारेमा थोरै कहि बताईदिनुस् न ? 
– सालैजो भने पछि मौलिकता त हुनेनै भयो। म सालैजो गाउन औधी मन पराउछु। सबै सालैजो गित मीठो लाग्छ। यो मेरो गित पनि मेरै गाउँ ठाउको माटो निस्केको गित हो। बालापनमा बसेको माया बैसालु उमेरमा पुग्दा केही समय बिछोड भएर भेट हुदा अलिकती सङ्का गरे जस्तो गरेर बनाएको गित हो। शब्द र लय म आफुलाई पनि राम्रो लाग्छ यसको तर मेरो स्वरमा निखारापन अलि भएन अब पछिल्लो गितहरु गाउदा निकै नै मिहिनेत गरेर गाउछु।

( गितको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् )

१९. समय सान्दर्भीक र पुर्खौं देखि चलन चल्तीमा आएको मौलीकतालाई जोगाईराख्न पक्कै पनी यहाँको पनी उल्खनीय भुमिका रहने छ ! विदेश बसेर गित संगितमा लागिरहन कत्तीको सजिलो छ ? 
– बिदेशमा फुर्सदको समय भनेकै बिदाको दिन हो। दैनिक १४/१५ घन्टा लामो समय काम हुदा ज्यान थकित त हुने नै भयो त्यसमाथी तनाव हुन्छ। अलिकति समय बाकी हुने बित्तिकै फेरि आफ्नो परिवारलाई पनि समय दिनै पर्यो। त्यति सजिलो छैन तर गर्नै नसकिने चाहिँ होइन। धेरै जना बिदेशमा बसेर पनि कलाकार बनेकै छन। तर एक सुर र एक मन लिएर लाग्न चाहिँ कत्ती सकिन्न।

२०. पछिल्लो समय धेरै त्यस्ता कलाकार पनी जन्मेका छन् , छोटो समय मै लोकप्रियताको लागि नेपाली गित संगितमा विकृती विसंगतीका गित बनाईरहेका हुन्छन् , त्यस्ता कलाकारलाई के भन्नुहुन्छ ? 
– उनिहरु भनेका हावा देखि आएको जस्तो लाग्छ। हिजोको पालामा गित सुन्ने खालका थिए, हामी रेडियोमा सुन्थ्यो खुब आनान्द लिन्थ्यौ। आज गित भिडियोमा हेर्ने खालको बनाउछन। गितको सुनाइ पक्षमा भन्दा हेराई यानिकी भिडियोलाई बढी फोकस बनाइएको हुन्छ अचेलका गित। एउटा कलाकार बन्न पैसा खर्च गरेर महङ्गो रेटमा म्युजिक भिडियो निर्माण गरेर गितलाई हिट बनाउने होडबाजीनै छ।

त्यो गतिलो होइन। लोक गितको अर्थ र परिभाषा राम्रोसँग बुझेर गितको अर्थ र भावलाई न्याय दिने खालको लोक गित अचेल आउनै छोडिसक्यो। पैसा खर्च गरेर बनेका कलाकारले नै सङ्गीतलाई विकृति तिर धकेलिरहेका छन्, यो राम्रो होइन। गित मौलिक सगसगै भिडियो पनि मौलिक हुनै पर्छ यो लोक दोहोरी गितमा।

२१. आगामी दिनमा हामीले यहाँको कस्तो खालको प्रस्तुतीहरु हेर्न पाउछौं ? 
– हेरौ दुईतार वटा गित बनाएको छु। गित राम्रो लागे रेकर्ड गर्छु भन्ने छ। मेरो बाबा सोरठी गित खुब गाउनुहुन्छ। उहाँ अहिले पनि गाउमा कुनै रमाइलो भयो भने घर देखि मादल भिरेर गएर ठाडो भाका गाउनुहुन्छ। उनै गाउको सोरठी र ठाडो भाका गाउने पनि सोच बनाएको छु। ताकी गितले मेरो जन्मेको गाउँ ठाउलाई चिनाउन सकोस भनेर।

२२. अब यहाँलाई अन्तीम प्रश्न “चन्द्र” जी अन्त्यमा मैले यहाँलाई आज गरिएको कुराकानी मध्य केहि सोध्न छुट्याएका प्रश्न भए, र यहाँले भन्नै पर्ने कुराहरु छन् भने बताईदिनुहोस् न ?
– त्यस्तो भन्नै पर्ने कुरा त खास केही छैन। बिदेसमा छु पसिना बगाउछु, यसैमा परिवार आस्रित छन। म जस्ता लाखौं युवा यसरिनै बाचेका छन , बाध्यताले बिदेश आउने परिपाटी चाडै बन्द होस भन्ने चाहान्छु। राज्यले जिउ धनको सुरक्षा र काम गर्ने वातावरण बनाइदिओस। हामी नपुगेरै भब्य बन्न खोज्छौ यो ठिक होइन। भब्य होइन सभ्य बन्न सिकौ।

हामिमा अनुशासन र सभ्यताको अधिक खाँचो छ। सुनेको भरमा बोल्ने र गर्ने काम नगरौ। म र मेरो मात्र सोच्ने बानिले आज हामी नेपाली यति धेरै पछाडी परेका छौ, अब हामी र हाम्रो बारेमा सोचौ। मलाई बोलाएर मेरा बारे दुईचार कुरा भन्न दिनुभएकोमा यहाँलाई र बिहानी अनलाइन डटकमलाई हृदय देखि धन्यवाद दिन चाहान्छु। फेरि फेरि यसरीनै भेट्ने मौका जुरोस।

२३. यहाँको यो संगितमय यात्रालाई निरन्तर अगाडी बढाउनुहोला । तपाईको गित संगितको यात्रा सफल होस, होम्रो तर्फबाट शुभकामना छ । हुन्छ, “चन्द्र जी” यती व्यस्त समयको बाबजुँद पनी हामीलाई कुराकानी गर्ने समय दिनुभयो, 
त्यसको लागी यहाँलाई धेरै धेरै धन्यवाद छ ।
– धन्यवाद छ।

“धन्यवाद !”