महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा

बिहान ३ बजे नै पशुपतिका चारवटै ढोका खोलिने

फाईल तस्विर !!

काठमाण्डौं,फाल्गुन,२६-बिहीबार महाशिवरात्री, भगवान महादेवको पूजा आराधनाको विशेष दिन । पशुपतिनाथ लगायत देशैभरीका शिवालयहरूमा महाशिवरात्री पर्वको भव्य तयारी भइरहेको छ ।

पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट पशुपतिनाथ दर्शनका लागि साधुसन्तहरू आइसकेका छन् ।

कोरोना महामारी नसकिएकाले पशुपति क्षेत्र विकास कोषले यस पटक शिवरात्रीमा भीडभाड र तामझाम कम गर्ने कोसिस गरेको छ । तर, झण्डै ९ महिना बन्द भएर गत पुस १ गते देखि खोलिएको पशुपतिनाथको मन्दिरमा दशनार्थीको भीड लाग्ने निश्चित छ ।

महाशिवरात्रीको पूर्वसन्ध्यामै पाशुपत क्षेत्रमा मानिसहरूको चलहपहल बढेको छ । महाशिवरात्रीको तयारी गरेको पशुपति क्षेत्र विकास कोषले सुरक्षा सावधानी अपनाएर पूजा आराधना गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

बिहिबार बिहान ३ बजे देखि नै मन्दिरका चारै वटा ढोका खुला हुनेछन् भने भक्तजनहरूलाई मन्दिरमा प्रवेश गर्न तीन लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक स्थानमा स्यानिटाइजरको व्यवस्था गरिएको र भक्तजनहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने कोषले बाध्यकारी व्यवस्था गरेको उपनिर्देशक अधिकारीले बताउनुहुन्छ । भीडभाड र तामझाम नहोला भन्ने ठानेर कोषले तयारी पनि सोही अनुसार गरेको छ ।

यसपटककाे परिवेश फरक भएकाले पाशुपत क्षेत्रमा साधुसन्तहरू समेत गत वर्षहरूको तुलनामा कम मात्र आएका अधिकारीकाो भनाइ छ ।

महाशिवरात्रीका लागिसुरक्षाकर्मी, स्वयंसेवक र स्काउट गरी ४ हजार जना परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहित ३० वटा संस्थाले स्वास्थ्य शिविर पनि सञ्चालन गर्दैछन् ।