युरोकप:इंग्ल्यान्ड विरुद्ध स्कटल्याण्ड,क्रोएसिया संग चेक रिपब्लिक भिड्ने

फाईल तस्विर !!

एजेन्सी,असार,४-१६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार)हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।

स्कटल्याण्ड भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग २–० गो अन्तरले स्तब्ध भएको थियो । अंक विहीन स्कटल्याण्ड पुछारमा रहेको छ ।

इंग्ल्यान्ड र स्कटल्याण्ड २५ वर्षपछि ठुलो प्रतियोगितामा भिड्न लागेका हुन् । ग्यारेथ साउथगेटको इंग्ल्यान्ड स्कटल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा पुग्न चाहन्छ । यता, हारले भने स्कटल्याण्ड बाहिरिने पक्का छ । स्टेभन क्लार्कको स्कटल्याण्ड इंग्ल्यान्डविरुद्ध गर या मरको स्थितिमा हुनेछ ।

दुई टोलीबीचको खेल हेर्न वेम्बली स्टेडियममा २२ हजार ५०० समर्थकको उपस्थित रहने बीबीसीले जनाएको छ ।म्यानचेस्टर युनाईटेडका सेन्टर ब्याक ह्यारी मग्वाएर स्कटल्याण्डविरुद्ध उपलब्ध हुनेछन् । उनले क्रोएसियाविरुद्धको खेल गुमाएका थिए ।

यसैबिच:युरोकपको  दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह ‘डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ । चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

क्रोएसियाका सेन्टर ब्याक डेजान लोभ्रेन चोटमुक्त हुँदै खेलमा फर्कने छन् । ब्रुनो पेटकोभिकले अग्रपंक्तिमा एन्ट रेविकलाई परिवर्तन गर्न सक्छन् । लेफ्ट ब्याक बोर्ना बारीसिक चोटका कारण बाहिर रहन सक्छन् ।

यता, चेक रिपब्लिकले भने स्कटल्याण्डविरुद्ध २–० ले जित निकालेकै सेट खेलाउन सक्छ । यद्यपि गोलरक्षक भने परिवर्तन हुन सक्छ । चोटकै कारण गोलरक्षक जिरी पाभ्लेनकाको स्थानमा टोमस कोउवेक टोलीमा अटाउनेछन् ।