समुदायको सहकार्य नै बिपद व्यवस्थापनको पहिलो आधार भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई

ओखलढुंगा,साउन,२२-
समुदायको सहकार्य नै बिपद व्यवस्थापनको पहिलो आधार भएको ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभएको छ । बिपद जोखिम न्युनिकरण सम्बन्धी जिल्लामा आईपर्ने बिपदलाई कसरी न्युनिकरण गर्ने भन्ने बिषयमा आज जिल्ला प्रशासन कार्यलयमा आयोजना गरिएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

ओखलढुंगामा बिगत दुईदिन देखी निरन्तर बर्षा भईरहेकोले सर्तकता अपनाउन उहाँले सबैमा आग्रह गर्नु भएको छ । कुनै पनि बिपद घटनाहरु अकस्मात् आउने र ठुलो जनधनको क्षेति गर्ने हुनाले त्यसको व्यवस्थापनमा सबै निकायहरु चनाखो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बिपद व्यवस्थापनका लागि सबै एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले विपद्को बेला जोसुकैले पनि आफ्नो क्षमता अनुसारको योगदान गर्नुपर्ने बताउनु भयो । प्रमुख श्रेष्ठले बिपदका बेला सबै सजग हुनुपर्नेमा जोड दिनुभएको छ । बिपदका क्षेत्रमा नगरपालिका गम्भिर भएर लागी परेको पनि उहाँको भनाइ छ । नगरपालिकामा बिपद आईपरेको खण्डमा पीडितलाई वितरण गर्न ५ सय थान त्रिपाल र ५ सय थान कमल सुरक्षित साथ राखिएको छ ।

यस्तै बिपद्को क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुंगाका सभापति सुमन राजभण्डारीले विपद व्यवस्थापन र राहातका लागि आवश्यक भाँडावर्तन सहितका सामाग्री र लत्ताकपडा तयारी अवस्थामा राखेको बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बिपद व्यवस्थापन र खोज तथा उद्धार कार्यमा विभिन्न सरोकारवाला निकायसँगै कार्य गर्न तयार भएर बस्ने गरेको बताउनुभएको छ । कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधी र संचारकर्मिहरुको उपस्थित रहेको थियो ।