सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौं,पुष,२०-जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो ।

बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय भएको हो।नभए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने जसपाले निर्णय गरेको छ ।

बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ।चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

चुनावमा पार्टीका उम्मेदवारहरुविरुद्ध उम्मेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ । विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।