लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसको आह्वान

काठमाडौं ,असोज,१८-

नेपाली कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउन औपचारिक पहल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने र त्यसका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको छ।

काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसहित कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक दलहरुलार्इ गठबन्धनका लागि आव्हान समेत गरेको कांग्रेसका नेता बिमलेन्द्र निधिले बताउनुभयो । उहाँका अनुसार बैठकले संघीय समाजवादी फोरम राष्ट्रिय जनता पार्टी दुबै राप्रपा लगायतका लोकतान्त्रिक दलहरुलार्इ संयुक्त बैठकका लागि आव्हान गरेको छ।

यस्तै माओवादीले समर्थन फिर्ता लिएपनि सरकारसंग बहुमत कायमै हुने निधिले दावी गर्नुभयो । सत्तारुढ दल नेकपा माओवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच निकट भविष्यमा पार्टी एकता गर्ने गरी तत्काल चुनावी तालमेल गर्ने औपचारिक सहमति भएपछि कांग्रेस पार्टीको आगामी रणनीति बनाउन जुटेको हो। 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाए पनि कांग्रेसका नेताहरुले भने माओवादीसंगको सम्बन्धमा पुनविचार गर्नुपर्ने धारणा राखेका छन्। बालुवाटारमा जारी कार्यसम्पादन समितिको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारे सघन छलफल भएको कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिदै गर्दा हामीलाई पनि लोकतान्त्रिक शक्तिहरुको गठबन्धन बनाउन दवाव छ। कांग्रेसले यसको नेतृत्व गर्छ।’ मंगलबार नेकपा एमाले, एमाओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकता गर्ने गरी ६ बुँदे सहमति भएको थियो।