प्रादेशिक महोत्सवमा ‘एसएमएस भोटिङ्ग’ गरिने, उत्कृष्टलाई आर्कषक पुरस्कार दिईने

नेपालगन्ज,फाल्गुन,१८-
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १९ गतेदेखि २९ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना गरिने प्रादेशिक महोत्सव २०७५ मा प्रश्नोत्तर सहितको‘एसएमएस भोटिङ्ग’कार्यक्रम गरिने भएको छ ।

महोत्सवमा आउने दर्शकलाई प्रश्न गरिने र सही जवाफ सहित धेरै एसएमएस गर्ने दर्शक मध्ये गोलाप्रथाबाट उत्कृष्ट चयन गरिने छ ।
उत्कृष्ट दर्शकलाई आर्कषक पुरस्कार प्रदान गरिने प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो ।दर्शकलाई बिशुद्धरुपमा जिज्ञासु बनाउनका लागि महोत्सवमा पहिलो पटक एसएमएस भोटिङ्ग कार्यक्रम गर्न लागिएको हो ।

यसका लागि ईगल आई आईटि सर्भिस प्रालिले सहयोग गरेको छ । आईटी सर्भिस प्रालिका प्रवन्धक उमेश शर्माका अनुसार दर्शकलाई तीनवटा प्रश्न सोधिने छ । दर्शकले निश्चित कोड टाईप गरी त्यसमा सही जवाफ एसएमएस गर्नुपर्नेछ । त्यसरी धेरै एसएमएस गर्ने मध्येका दर्शकलाई सार्वजनिकरुपमा गोलाप्रथाबाट उत्कृष्ट चयन गरी पुरस्कार दिइनेछ ।

महोत्सव प्रचार प्रसार समितिका उपसंयोजक चिरञ्जीवी ओलीले प्रविधिको उपयोग गर्दै यस पटक नयाँ गर्न खोजिएको बताउँनुभयो । उहाँले एसएमएसबाट प्राप्त हुने आम्दानी र खर्च बिबरण महोत्सवमै सार्वजनिक गरिने जानकारी दिनुभयो ।