भारतको केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो

काठमाडौं,भाद्र,२-

भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो ।

केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।केरला सरकारले कासरगोडबाहेक सबै जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

मौसम विभागले अझै केही दिन बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन अपील गरेको छ ।केरलाका मुख्य मन्त्री पिनराई विजयनले उद्धारको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् ।

उनले बाढीमा फसिरहेकाहरुको सूचना दिएर उद्धारमा सहयोग गर्नसमेत अपील गरेका छन् ।बाढीबाट विस्थापित भएका दुई लाखलाई शिविरमा राखिएको छ ।

केरला सरकारले बाढी प्रभावितका लागि ५ लाख अट्ने शिविर निर्माण गरेकोमा दुई लाख मानिस जम्मा भइसकेको बताइएको छ । (एजेन्सी)