एसियाकै ठूलो खेल महोत्सव १८ औं एसियाड इन्डोनेसियामा सुरु हुँदै

नेपालसहित ४५ देश सहभागी

काठमाण्डौं,भदौ,२-

एसिया महादेशकै सबैभन्दा ठूलो खेल महोत्सव एसियाडको १८ औं संस्करण इन्डोनेसियामा आज सुरु हुँदैछ। नेपाली समय अनुसार साँझ ६: बजे सेन्ट्रल जाकर्ताको गेलोरा बुङ कार्नो रंगाशालमा उद्घाटन समारोह सुरु हुनेछ।इन्डनेसियाका राष्ट्रपति जोको विडोडोले एसियाडको उद्घाटन गर्नेछन्।

उद्घाटन समारोहलाई ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्। उद्घाटन समारोहको टिकट शुक्रबार नै बिक्री भइसकेको आयोजकले जनाएको छ।समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुती दिने छन्।

अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुती दिने कार्यक्रम छ। यस्तै चार हजार कलाकारले नृत्य प्रस्तुत गर्ने छन्। यसका लागि महिनौ अभ्यास गरिएको थियो।

उद्घाटन समारोहमा नेपालबाट पनि खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुने छन्। नेपाली टोलीको नेतृत्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने छन्।

यसैगरी एसियाडमा नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट लगायतका पदाधिकारी हुनेछन्।नेपालको राष्ट्रिय झन्डा १० औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमलबहादुर अधिकारीले फहराउने छन् ।

४५ देशबीच भिडन्त
एसियाडमा ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी हुने छन्। ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ।इतिहासमै पहिलोपटक दुई सहरमा एसियाड खेलकुद प्रतियोगिता आयोजना गरिएको छ।

दोस्रोपटक एसियाड आयोजना गरेका इन्डोनेसियाले जकार्ता र पालेम्वाङमा खेलहरू सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। इन्डोनेसियामा सन् १९६२ मा पनि एसियाडको चौथो संस्करण भएको थियो।एसियाड सबै भन्दा बढीपटक आयोजना गर्ने राष्ट्र थाइल्यान्ड हो।इन्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

एसियाली खेलकुदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले यसपटक ८ सय ७९ खेलाडी सहभागी गराएको छ। थाइल्यान्डले ८ सय १६, दक्षिण कोरियाले ८ सय ७, चाइनिज ताइपेइले ५ सय ५८ र भारतले ५ सय ७२ खेलाडी सहभागी गराउँदै छन्।

एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदै छन्। जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे एक जना छन्।नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुने छन्।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ।

एसियाडमा नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ। नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ती कास्य पदक जितेको छ।सन् १९८६ को सिओल एसियाडमा नेपालले पहिलोपटक पदक प्राप्त गरेको थियो। एसियाली खेलकुद भदौ १७ गतेसम्म सञ्चालन हुनेछ।साभार नेपालखबरबाट