भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउदै

मोदीको स्वागतका लागी भव्य तयारी

काठमाण्डौं,बैशाख,२८-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउदै हुनुहुन्छ ।भारतीय प्रधानमन्त्रीकारूपमा मोदीले तेस्रोपटक नेपालको भ्रमण गर्न लाग्नु भएको हो ।

दिल्लीबाट सिधै भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी सहितको टोली बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् ।मोदीलाई नेपाल सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् । मोदीको स्वागतका लागि मुख्यमन्त्री राउत पनि विमानस्थल पुग्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट सिधैं विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिर र त्यसपछि बाह्रबिघा रङ्गभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । उक्त बाटोमा पर्ने सडकलाई कालोपत्र गरिएको छ भने सडकको दुवैतिरका पर्खाललाई केशरिया रङले सिङ्गारिएको छ।जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ।

कार्यतालिका अनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जाने र मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा षोडशोपचार विधिबाट विशेष पूजा अर्चना गर्नेछन्। विशेष पूजाका बेलामा १०१ पण्डितले शंख बजाउने कार्यक्रम रहेको छ।

तर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर विमानस्थलमा उत्रिनुभन्दा एक घण्टा अगाडि नै अर्थात विहान ९ बजे नै प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुग्नुहुनेछ ।उहाँको हेलिकोप्टर रंगभूमि मैदान (बाह्रबिघा) मै अवतरण गर्ने प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो ।

ओलीलाई मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेश सरकार र स्थानीय अधिकारीहरुले स्वागतसँगै मोदीसँगको कार्यक्रमबारे ब्रिफिङ गर्नेछन् । तेस्रो मधेस आन्दोलनपछि ओली पहिलो पटक जनकपुर जान लाग्नु भएको हो । ओली हेलिकोप्टरबाट ओर्लिएर सिधै जानकी मन्दिरमा जाने कार्यक्रम तय भएको छ ।

यसैबिच : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङमा भने शनिबार भ्रमण गर्नुहुनेछ । प्रधानमन्त्री मोदीको स्वागतका लागि भव्य तयारी भईरहेको छ । मुक्तिनाथ क्षेत्र विकास समिति, वारागुङ–मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला समन्वय समिति र रानीपौवाबजारका वासिन्दाले स्वागत गेटहरु बनाइरहेका छन् ।

यस्तै, मोदी भ्रमणको सुरक्षाका लागि मुक्तिनाथमा नेपाल प्रहरीका १८५ जना, सशस्त्र प्रहरीका १८५ र नेपाली सेनाको ठूलो टोली परिचालन भएको प्रहरी नायव उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।
                  अपडेट……।