तराईको विकासका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौ,भदौ,२-

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रदेश नम्बर २ को प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराईको विकासका लागि सरकारले ठूलो रकम विनियोजन गरेको भन्दै प्रदेशका जनतालाई सुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाटै चल्ने जानकारी दिनुभयो।नेपालका तीन वटा नदीबाट पानी जहाज चाँडै चल्न सुरु गर्ने उहाँको भनाइ थियो ।प्रधानमन्त्री ओलीले हरेक प्रदेशको आ–आफ्नै विशेषता भएको भन्दै तराई पनि उर्बरभूमी र अन्नभण्डार भएको उल्लेख गर्नुभयो ।

उर्बर भूमिमा सिँचाइको सुविधा पुर्‍याउन सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले तराईको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट विनियोजन गरेको दाबी गर्नुभयो ।

जनता आवास कार्यक्रम अनुसार प्रदेश २ का हरेक जिल्लामा १ बजार घर बनाउने योजना सरकारले अघि सारेकाले यो कार्यक्रम प्रभावकारी बन्ने उहाँको भनाइ थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले आगामी ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने प्रतिबद्धत पनि व्यक्त गर्नुभयो । उहाँले प्रदेश २ मा मल कारखाना सञ्चालन गरिने र उखु किसानलाई विशेष व्याकेज बनाउने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ मा पर्यटकीय, औद्योगिक ग्राम निर्माण गर्ने, राजर्षि जनक विश्वविद्यालयको भौतिक अवस्था सुधार गर्ने र राजविराजमा मेडिकल कलेज सञ्चालन गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गर्न सुरु गरेपछि राजपा नेपालका प्रदेश सांसद उपेन्द्र महतो, विशेश्वरप्रसाद यादव र गौरीनारायण साहले बहिस्कार गरेर बाहिरिएका थिए ।