कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र प्रभावित

काठमाडौं,फागुन,१७-चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोपमा फैलिँदै गएको छ ।कोरोनाका कारण विश्वव्यापी रुपमा सेयर बजार र अर्थतन्त्रमा नराम्रो असर परेको छ ।

अमेरिकी विदेश विभागले इटालीसँग सतर्कता बढाएको जनाएको छ ।पछिल्लो समय इटालीमा पनि कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने करिव सात सयजना कोरोनाबाट संक्रमित भएका छन् ।

कोरोनाका कारण विश्वव्यापी रुपमा दुई हजार आठ सय जनाको मृत्यु भइसकेको छ भने ८३ हजार भन्दा बढी प्रभावित भएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि अमेरिकाले आगामी मार्च १४ मा दक्षिण पूर्वी एशियाका नेताहरुसँगको छलफल स्थगित गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत नोभेम्बरमा बैंककमा उक्त समूहसँगको शिखर सम्मेलनमा भाग नलिएपछि ती नेताहरुसँग भेट गर्न दक्षिणपूर्व एशियाली राष्ट्रहरुको १० सदस्यीय टोलीलाई आमन्त्रित गरिएको थियो ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको बढ्दो संक्रमण रोक्ने प्रयासहरु जारी रहेपनि यसबारेको भ्रम र गलत सूचना नियन्त्रण गर्न चुनौती रहेको बताएको छ ।(एजेन्सी)