अमेरिकाले एमसीसी परिमार्जन नगरे अनुमोदन हुँदैन- प्रचण्ड

काठमाण्डौं,फागुन,१७-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही बुँदाहरु परिमार्जनका लागि अमेरिकी सरकारसँग आग्रह गर्ने बताउनुभयो ।

प्रेस संगठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डल परिमार्जन नभए एमसीसी पारित नहुने बताउनु भएको हो। उहाँले अमेरिकालाई एमसीसी परिमार्जन गर्न आग्रह गर्ने नमाने राष्ट्रहित विपरीत सम्झौता नगर्ने बताउनुभयो ।

उहाँले नेकपाले बनाएको कार्यदलले दिएको सुझाबअनुसार परिमार्जन भए मात्रै एमसीसी पारित हुने नत्र ५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता नगर्ने बताउनुभयो ।

‘नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध छ, हामी अमेरिकी सहयोग पनि लिन चाहन्छौँ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तर, एमसीसीमा रहेका केही बुँदा परिमार्जन गर्नुपर्ने छन्, परिमार्जन नगरी ५५ अर्बका लागि राष्ट्रहित विपरीतको सम्झौता गरिँदैन।’

पार्टीभित्र देखिएको विवाद केही सामान्य भएको भन्दै उनले जीवन्त  पार्टीमा बहस र छलफल भइनै रहने बताउनुभयो । तत्काल संविधान संशोधन नहुने बताउँदै उहाँले पार्टी सचिवालयको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोर्‍याउनुभयो ।