संबेदनशिल क्षेत्रमा सुरक्षाकर्मी परिचालन

मोहन पनेरु,

डोटी,असार,८-

आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षा दिन जिल्लाका अति संबेदनशित क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाको दक्षिण क्षेत्रलाई अति संबेदनशिल भन्द नेपाली सेना र सशस्त्र प्रहरीहरु परिचालन गरिएको छ ।

बड्डीकेदार र बोगटान गाउपालिकामा नेपाली सेनाहरु परिचालित गरिएको छ । सो क्षेत्रका १० वटा मतदान केन्द्रहरु अति संबेदनशिल रहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले जानकारी दिएका छन् ।

बिप्लब समुहको नेपाल कम्युनिष्ट पार्टीले सो क्षेत्रमा जनसरकारहरु गठन गर्दै निर्वाचन बिथोल्ने चेतावनी दिदै आएको छ । ७ नं. प्रदेशमध्य डोटीको बड्डीकेदार र बोगटान गाउ“पालिका नै नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बिथोल्ने योजना बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका एक जिल्ला स्तरीय नेताले भने–‘जतिसुकै सुरक्षा ब्यवस्था गरेपनि निर्वाचन बिथोली जनसरकार स्थापीत गर्ने छौं ।’ जिल्ला प्रशासन कार्यालयले यस अघि बिप्लव समुहका तीन कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

बड्डी केदार गाउँपालिकामा १ सय २९ जनाको संख्यामा नेपाली सेनाहरु बसिसकेका छन् । सम्बेदनशील अन्य क्षेत्रमा समेत नेपाली सेनाहरु बस्ने बताइएको छ ।

त्यसैगरी जिल्लाका अन्य गाउ“पालिकाहरुमा समेत सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा सशस्त्र प्रहरीहरु परिचालित भईसकेको जिल्ला सुरक्षा समिति स्रोतले जानकारी दिएको छ ।

जिल्लाभरी २ सय ५ जनाको संख्यामा सशस्त्र प्रहरीहरु परिचालित छन् । सशस्त्र प्रहरी कैलालीको बडिमालिका गणबाट खटिएका बताइएको छ ।

साबिकको सुदूरपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम समेत रहेको डोटी जिल्लामा स्थानीय निर्वाचन शान्तपूर्वक सम्पन्न गराउने उद्देश्यले सुरक्षा कडा पारिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु पठाइ सकिएको छ ।

क्षेत्रीय प्रशासक शुशिल कुमार ढुंगानाले ७ नं. प्रदेशमा सुरक्षाको चिन्ता नगर्न मतदाता र उम्मेदवारहरुलाई आग्रह गरेका छन् । उनले ७ नं. प्रदेशभरी सुरक्षा ब्यवस्था भइसकेकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन अनुरोध गरे ।

‘जिल्लामा अहिलेसम्म कुनै किसिमका निर्वाचन बिरोधी गतिबिधीहरु संचालन भएका छैनन् ।’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिस्टले भन्नुभयो, ‘निर्वाचनको समयमा जिल्लामा कुनै किसिमको निर्वाचन बिरोधी गतिबिधीहरु हुन नदिन जनपद र म्यादी प्रहरी गरी १३ सय जना सुरक्षाकर्मीहरु परिचालित गरेका छौं ।’

अति सम्बेदनशील घोषणा गरिएका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरिक्षक बिस्टले जानकारी दिनुभयो । डोटी जिल्लामा १ सय १५ वटा मतदान स्थलहरु रहेका छन् भने १ सय ५५ वटा मतदान केन्द्रहरु रहेका छन् ।

स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा थप प्रहरीहरु ल्याइएको छ ।निर्वाचनको समयमा डोटी जिल्लामा मदिरा निषेधित गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

‘अहिलेको समयमा मदिरा सामान्य रुपमा निषेधित गरिएको भएपनि केही दिनबाट निर्वाचन सम्पन्न नभएसम्म मदिरा पूर्णरुपमा निषेधित गरिने छ ।’ प्रहरी उपरिक्षक डिल्लीराज बिस्टले बताउनु भयो ।

निर्वाचन अवधीमा मदिरा सेवन गरी होहल्ला र उस्रिङ्खल गतिबिधी बढ्ने भएकाले मदिरा पूर्ण रुपमा निषेधित गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।