प्रारम्भिक सिकाई कार्यक्रमले बालबालिकाहरुको सिकाईमा प्रभाव पर्ने: जिशिअ साउँद

भिष्म लोध
नेपालगञ्ज, जेठ,२२-
पूर्व कक्षा पढाईलाई प्रभावकारी बनाउँदै दिगो सिकाईका लागि शिक्षकहरुका निम्ति चार दिने प्रारम्भिक सिकाई तथा पढाई सन्दर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धि तालिम संचालन गरिएको छ ।

एक कक्षामा पढ्ने बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री तथा प्रयोगबारे शिक्षकहरुका लागि आजदेखि नेपालगञ्जमा चार दिने तालिम संचालन गरिएको हो ।

बिद्यालयहरुमा बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउनका लागि शैक्षिक सामाग्रीको प्रयोग तथा निर्माण आवश्यकतालाई पुरा गर्ने उद्देश्यले प्लान इन्टरनेशनलको सहयोग, जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल)को आयोजनामा तालिम संचालन गरिएको बाल बिकास केन्द्रका सिनियर सुपरभाईजर लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको उदघाटनमा बोल्दै बाँकेका जिल्ला शिक्षा अधिकारी भीम बहादुर साउदले शिक्षकहरुले सिकाईलाई प्रभावकारी बनाउनका लागि मिहिनेत गरिरहेको भएपनि प्रारम्भिक सिकाई तथा पढाईले उहाँहरुमा नया उर्जा दिने बताउनुभयो ।

बिद्यालयहरुमा हालको सिकाई उपलब्धीलाई स्मरण गर्दै जिशिअ साउदले भन्नुभयो, दश कक्षामा रहेको बिद्यार्थीहरुलाई समसामायिक बिषयबारेमा जानकारी नहुने, स्थानीय सेरेफेरो बारे समेत ज्ञान नभएको देखिन्छ, त्यसकारण त्यस्ता समस्याहरु अब आउने बालबालिकाहरुमा नदेखियोस भन्नका लागि अहिले सरकारले प्रारम्भिक कक्षा सिकाई कार्यक्रम संचालन गरिएको हो ।

प्रारम्भिक कक्षा सिकाई कार्यक्रमका क्षेत्रीय संयोजक बखत भण्डारीले सरकारले संचालन गरेको यो कार्यक्रमले अहिले एकदेखि तीन कक्षामा पढ्ने बालबालिकाहरुको बुझाईलाई प्रभावकारी बनाउँदै दिगो सिकाईका लागि सहयोगी हुने बताउनुभयो ।

उहाँले बालबालिकाहरुे बुझेर, आवाज निकालेर र अभिभावकको निगरानीमा बढ्नले उनीहरुमा तिब्र सिकाई हुने भएकाले प्रारम्भिक सिकाई तथा पढाई कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

उदघाटन शत्रमा प्लान इन्टरनेशनलका सिकाई कार्यक्रम संयोजक संजीव जोशीले बिद्यालयहरुमा शैक्षिक सामाग्रीको माध्यमबाट गरिने सिकाई प्रभावकारी हुने बिभिन्न अध्ययनले देखाएको बताउनुभयो ।

अबको समयमा सिकाई प्रबिधि परिवर्तन हुँदै गएको र बालबालिकाहरुमा बिभिन्न खेलको माध्यमबाट छिटो र प्रभावकारी सिकाई हुने उहाँले धारणा राख्नुभयो । स्याकका टिमलिडर शिवलाल पाण्डेलेको सभापतित्वमा तालिम शुरु थियो ।

चार दिने तालिमलाई सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापा, रिनु शेरचण, इजिआरपीका क्षेत्रीय संयोजक भण्डारी, प्लानका सिकाई संयोजक जोशीले प्रशिक्षण दिने कार्यक्रममा जिल्लाका गाउँपालिका अन्तगर्त प्लानको सहयोगमा एक कक्षामा सवलीकरण गरिएका बिभिन्न २५ वटा बिद्यालयको एकदेखि तीन कक्षामा अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको छ ।