आँखाको क्यान्सरबाट पिडित बालीकाको जिवन बचाउन अभियान शुरु

काठमाण्डाैं,जेठ,२२-

आँखाको क्यान्सरबाट ज्यान नै जोखिममा परेरछि कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान थालीएको छ । नेपाली युवाको अन्तर्रा्ष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो ।

कालीकोट रास्कोट नगरपालिका–७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिए पनि उपचारको अभावमा उक्त समस्याले घाउको रूप लिएर बढ्दै गएपछि अहिले आँखो छोपिएको र घाउ दिनदिन बढ्दै र कुहुँदै गएकोे छ ।

मान्मा अस्पतालमा कार्यरत अहेब दीर्घबहादुर नेपालीले उनको उपचार जिल्लामा सम्भव नभएकाले काठमाडौँ अथवा अन्य स्थानमा लानुपर्ने बताउनु भयो । मिसन बेटर नेपालले मनसरालाई काठमाडौँ ल्याउने तयारी गरेको अभियानका सल्लाहकार महेश पौड्यालले बताउनु भयो ।

सो रोग रेटिनो ब्लास्टोमा अल्सरेटिभ ट्युमर भनिने क्यान्सरजस्तो रोग भएको त्रिपुरेश्वर आँखा अस्पतालका नेत्र चिकित्सकले जनाएका छन् ।

चिकित्सकले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मनसरालाई भर्ना गर्न सल्लाह दिएअनुसार बेटर नेपालले भर्नाका लागि पहल गरिरहेको संयोजक रवीन खतिवडाले जानकारी दिनुभयो ।

मनसराको उपचारका लागि अर्थ सङ्कलन पनि भइरहेकाले इच्छुक दातालाई मनसरा लुहारकै नाममा सानिमा बैंक मान्मा शाखामा खोलिएको खाता नं ०४४०००००१०० मा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरिएको छ ।