प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, धरापमा पद

काठमाडौं,बैशाख,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।संघीय संसद भवनमा आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उहँको विश्वासको मत माग्न लाग्नु भएको छ ।

यस क्रममा उहाँले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउँछन् भने बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

यसैबीच आफ्नै पार्टी नेकपा एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपालनिकट सांसदले प्रधानमन्त्री ओलीलाई आफूहरूले भनेअनुसार पार्टीलाई २०७५ जेठ २ अर्थात् माओवादी केन्द्रसँग एकताभन्दा अघिको अवस्थामा फर्काउन राजी नभएर सामूहिक राजीनामा दिने बताइसकेका छन्।त्यसका लागि उहाँवाई अहिले बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका छन्।

विश्वासको मत माग्नुअघि सहमति भएन र नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिए भने प्रधानमन्त्री ओलीलाई बहुमत नपुग्ने निश्चित छ। त्यसपछि उहाँले पदबाट राजीनामा दिनुपर्नेछ।

ओलीलाई बिहान ९ बजेसम्मको अल्टिमेटम
नेकपा-एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको ठोस प्रस्ताव ल्याउन आज (सोमबार) बिहान ९ बजेसम्मको समय दिएको छ।

नेपाल पक्षका सांसदले हिजै (आइतबार) राजीनामा दिने तयारी गरेको थियो। तर ओली पक्षको अनुरोधपछि उनीहरूले लामो छलफलपछि सहमतिका लागि आज बिहानसम्म पर्खने निर्णय गरेका हुन्।

‘जेठ २ गतेको पार्टी संरचनामा फर्किने र सहमतिमा पार्टी सञ्चालन गर्ने मुख्य दुई विषयमा सहमति भयो भने हामी पक्षमा मतदान गर्छौं,’ एमाले सचिव योगेश भट्टराईले भन्नुभयो, ‘सहमति नभए राजीनामा दिने निर्णय भएको छ।’

यस विषयमा आज ‘फाइनल’ हुने एमाले सचिव भट्टराईको दाबी छ।त्यसका लागि आज बिहान साढे ९ बजे नेपाल पक्षका सबै सांसदलाई सिंहदरबारमा बोलाइएको छ।

यसैविच : प्रतिनिधिसभाको विशेष अधिवेशन आज (सोमबार)बाट सुरु हुँदै छ ।तर, मतदानमा २६ कोरोना संक्रमित सांसदलाई समेत सहभागी गराउनुपर्ने अवस्था रहेकाले यसपटकको अधिवेशन सञ्चालनको विधि नै बदलिएको छ ।

आइतबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले संक्रमित सांसदलाई पनि मतदानमा सहभागी गराउने सहमति गरेको थियो ।त्यसका लागि संसद् सचिवालय, सरकार र सम्बन्धित राजनीतिक दलको समन्वयमा उनीहरूलाई मतदानमा सहभागी गराउन सबै दल सहमत भएका थिए ।

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कोरोना संक्रमित सांसदको मताधिकारलाई संरक्षण गर्ने सहमति कार्यव्यवस्थाले गरेको बताए ।उहाँका अनुसार सोमबार नै मतदान गरेर अधिवेशन अन्त्य गर्ने तयारी छ । 

संसद् सचिवालयले कोरोना संक्रमितका लागि मतदान गर्न विशेष तयारी गरेको छ ।संसद् भवनको मुख्य सभाहलको छेउछाउमा भएका कोठामध्ये कुनै एकमा संक्रमित सांसदलाई मतदानको व्यवस्था गर्ने तयारी छ ।यसका लागि भवनमा भएका कोठामध्ये सबैभन्दा ठूलो, फराकिलो र उपयुक्त कोठा छानिनेछ ।

उक्त कोठामा पर्याप्त मास्क,स्यानिटाइजरको व्यवस्था गरिनेछ । सांसदको सहयोगका लागि सचिवालयका कर्मचारी खटिनेछन् । त्यहाँ खटिने कर्मचारीका लागि सचिवालयले पिपिई, मास्क, फेससिल्ड, स्यानिटाइजर र पन्जालगायत सुरक्षा मापदण्डका सबै साधन उपलब्ध गराउनेछ । 

संक्रमित सांसदका लागि हाजिरी रजिस्टरसमेत बेग्लै हुनेछ । उनीहरू मूल सभाहलतिर जान पाउने छैनन् । विशेष व्यवस्था गरिएको हलमा उनीहरूले मत दिनेछन् ।‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्नँ’ भन्न सक्ने व्यवस्थासहितको मतदान हुनेछ ।यसरी भोट दिइसकेपछि अन्त्यमा मूल बैठकको मत र संक्रमित सांसदले दिएको मत संकलन गरेर गणना गरिनेछ । र, सभामुखले मत सार्वजनिक गर्नेछन् । 

मतदानमा सहभागी हुने भए पनि संक्रमित सांसद छलफलमा सहभागी हुन पाउँदैनन् । सभाहलमा के भइरहेको छ उनीहरूले सुन्न भने पाउनेछन् ।त्यसका लागि सचिवालयले प्रोजेक्टर स्क्रिनको व्यवस्था गर्नेछ ।सचिवालयको भनाइ छ,‘संक्रमित सांसद छलफलमा सहभागी गर्न सक्ने अवस्था छैन ।

तर, छलफल सुन्न चाहने माननीय सदस्यलाई प्रोजेक्टर स्क्रिनको व्यवस्था गरिनेछ ।उहाँहरूले भित्र भइरहेको छलफल सुन्न सक्नुहुन्छ ।’मूल बैठकमा हरेक सांसदका लागि तीन मिटरको दूरीमा बस्ने व्यवस्था मिलाइए पनि संक्रमित सांसदका लागि दूरीको मापदण्ड छैन ।

तर, सकेसम्म एक-अर्काबाट टाढा रहने गरी बस्ने व्यवस्था मिलाइने सचिवालयको भनाइ छ ।छलफल सुन्न नचाहने अथवा हलभित्र बस्न नचाहने सांसदका लागि हलबाहिरको प्रांगणमा बस्ने व्यवस्था मिलाइनेछ । प्रवक्ता पाण्डेले भन्नुभयो, ‘उहाँहरूलाई बस्नका लागि प्रांगणमा पाल टाँगिनेछ ।त्यसका लागि हामीले व्यवस्था मिलाइसकेका छौँ ।

मतदान गर्ने समय भएपछि उहाँहरूलाई विशेष हलमा प्रवेश गराउने योजना छ ।’तर, संक्रमित सांसदलाई घरबाट संसद् भवन बानेश्वर कसरी ल्याउने भन्नेबारे निर्णय भइसकेको छैन । सोमबार बिहानसम्म त्यसको टुंगो लाग्ने सचिवालयको भनाइ छ ।‘संक्रमित सांसद व्यक्तिगत गाडीमा चढेर आउनुहुन्न होला ।कोरोनाको मापदण्डअनुसार पनि त्यसरी हिँड्न मिलेन ।

संक्रमितलाई आवतजावत गर्नका लागि एम्बुलेन्स अथवा अरू गाडीको व्यवस्था हुन्छ ।उहाँहरू हिँड्ने गाडीमा ड्राइभर संक्रमित हुनुभएन ।त्यसकारण उहाँहरूलाई ल्याउने र लैजाने विषयमा सरकारसँग छलफल गरेर टुंग्याउँने बताउनुभयो ।