बाँकेमा मात्र थप आठ संक्रमितको मृत्यु

बाँके,बैशाख,२६-बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१ का ५० वर्षीय पुरूष र सोही नगरपालिकाका ५० वर्षकै पुरूष र धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि मृत्यु भएको छ ।

यस्तै रुपन्देहीमा ४८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यसैबीच डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ ।बुढाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।