सात दिनमा माग पूरा नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं, फागुन २४- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सातदिनमा आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।सप्तरीको राजविराजमा भएको घटना पछि सोमबार बसेको मोर्चाको बैठकमा नै सरकारलाइ दिएको समर्थन फिर्ता लिनुपर्ने माग उठेपनि मंगलबार फेरि बसेको मोर्चाको बैठकले चार बुँदे माग राख्दै सात दिनमा पूरा नगरे समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मोर्चाले संविधान संशोधन विधेयक तत्काल पारित गर्नुपर्ने, स्थानीय तहको चुनाव फिर्ता लिनुपर्ने, प्रदेशले नै गाउँस्तरको संरचना बनाउन पाउने ब्यवस्था गर्नुपर्ने, राजविराज घटनाको न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, माग गर्दै सात दिनभित्र माग सम्बोधन नभए समर्थन फिर्ता लिने निर्णय भएको  तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री राकेश मिश्रले उज्यालोलाई जानकारी दिनुभयो ।

मोर्चाको बैठकअघि बसेको संघीय गठबन्धनको बैठकले भने सप्तरीमा ३ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन, मानवअधिकार आयोग तथा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने लगायत कार्यक्रमको घोषणा गरेको छ । साभार उज्यालो खबरबाट