हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

घाइतेको निःशुल्क उपचार गरिने

काठमाण्डौं,चैत्र,१८- 

प्रदेश २ को मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार राति भएको हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तत्काल ३ लाख रुपैया उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गरिदिने भएको छ। 

तस्विर साभार : सामाजीक संजालबाट

आइतबार राति भएको हावाहुरीको वितण्डाले मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने चार सय भन्दा बढी घाइते भएका छन्।  सोमबार विहान प्रदेश सरकाकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकमा परिवारलाई तत्कालीन रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

तस्विर साभार : सामाजीक संजालबाट

उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएको छ।  सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ५ सदस्यीय उद्दार तथा राहत व्यवस्थापन समितिको गठन भएको छ । घर भत्केकाको पुनर्वास गर्ने र  प्रभावितलाई राहत तथा उद्दार गरी सहयोग गर्न  सम्पूर्ण सघसंस्थालाई बैठकले आग्रह पनि गरेको छ । 

त्यसैगरी : गृह मन्त्रालयले काठमाण्डौबाट त्रिपाल, लत्ताकपडा र औषधी सहितको टोली बारा पठाएको छ । आज बिहानै त्रिपाल लत्ताकपडा र खानेकुरा सहितका तीनवटा ट्रक र नेपाल प्रहरीका ९ जना स्वास्थ्यकर्मीको टोली काठमाण्डौबाट पठाइएको  गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका उपसचिव वेद खनालले जानकारी दिनुभयो । 

तस्विर साभार : सामाजीक संजालबाट