अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

काठमाडौं,माघ,५-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आईतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भोलि माघ ६ गतेका लागि बोलाइएको संसद बैठक अगावै सभामुखको नाम टुंगो लगाउन आज बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

उनीहरुबीच सभामुखमा अग्नी सापकोटाको नाममा सहमति भएको थियो ।अध्यक्षद्धयको निर्णयलाई नेकपा सचिवालय बैठकले अनुमोदन गरेको हो । नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा संसद बैठक पटक-पटक स्थगित हुंदै आएको थियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको अभियोग लागेपछि रिक्त सभामुख पदमा को लैजाने भन्नेमा नेकपाभित्र रस्साकस्सी चल्दै गर्दा सापकोटाको नाममा सहमति भएको हो ।

प्रधानमन्त्री ओली पूर्वसभामुख सुवास नेम्बाङ तथा दाहाल सापकोटालाई सभामुख बनाउन चाहन्थे । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे आफ्नो पनि सभामुखमा दाबी रहेको बताएपछि त्रिकोणीय प्रतिष्पर्धा देखिएको थियो । तुम्बाहाङफेलाई राष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको चर्चा नेकपाभित्रै चलेको थियो ।

यसअघिको नेकपा सचिवालय बैठकले उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा दिन निर्देशन दिएपनि सभामुखको टुंगो नलागेसम्म राजीनामा नदिने बताएकी थिइन् । अब उपसभामुख तुम्बाहाम्पेले पदबाट राजिनामा दिनुपर्ने छ । संविधान अनुसार उपसभामुख विपक्षी दलले पाउने छ ।

सापकोटामाथि द्वन्द्वकालमा मानवअधिकार उल्लंघन गरेको आरोप लागेको छ । उनकै निर्देशनमा काभ्रेका अर्जुन लामाको हत्या गरिएको आरोप उनीमाथि लाग्दै आएको छ ।ईमेजखबरबाट