एकैदिन १५७३ जनामा कोरोना संक्रमण,१० जनाको मृत्यु

काठमाडौं,असोज,११-नेपालमा आइतवार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ ।हालसम्म कोरोना संक्रमणका कारण ४७७ जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार होम आईसोलेसनमा हाल १० हजार ६९८ जना रहेका छन् । यसैगरी संस्थागत आईसोलेशनमा ८ हजार ३२१ जना रहेका छन् । हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

हाल क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन् । हालसम्म कुल पीसीआर परीक्षण संख्या ९ लाख ८७ हजार ३२७ पुगेको छ भने विगत २४ घण्टामा १० हजार १२३ ओटा पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता गौतमले संक्रमितमध्ये ७३ दशमलव ४ प्रतिशत निको हुने दर रहेको बताए । मन्त्रालयका अनुसार कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ भने आइतवार मात्रै थप ८८५ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६३३ जना, ललितपुर  जिल्लामा १०४ जना र भक्तपुर  जिल्लामा ७२ जनालाई संक्रमण पुष्टि भएको हो ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न  भनेका छन् ।

उनले पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको भन्दै ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि नगर्ने पनि बताउनुभयो ।