आज विश्व पर्यटन दिवस : पर्यटन पुनरुत्थानका लगि कार्यदल गठन

फाईल तस्विर !!

काठमाडौं,असोज,११-आज आइतवार ‘पर्यटन र ग्रामीण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

आर्थिक विकासमा उल्लेख्य भूमिका र योगदान रहेको पर्यटन क्षेत्रले नेपालमा पनि सामान्य कार्यक्रम आयोजना गरि मनाउँदै छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ भने करीब ११ लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ ।

नेपालमा विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सरकार तथा निजीक्षेत्रको साझेदारीमा पर्यटनलाई चलायमान बनाउने अभिप्रायले टास्क फोर्स गठन गरी शनिवार पर्यटन पुनरुत्थान अभियान आरम्भ गरिएको छ । कोभिड-१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम पर्यटन पुनरुत्थान कार्यदल नेपालको औपचारिक आरम्भ गरिएको छ ।

सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा अभियान शुरू गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको हो । ‘पर्यटनका लागि हाम्रो देश, घुमाैं देश, चिनाैं परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री समेत सार्वजनिक गरिएको छ ।

कार्यदलले पर्यटन क्षेत्रका नीतिनिर्माताहरू, सरोकारवाला निकायहरूबीच परिणाममुखी समन्वय स्थापना गराउन तथा स्रोत बजारका टुर अपरेटर्स एवम् सम्भाव्य पर्यटकहरूबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्र्ने कार्यमा केन्द्रित रहने गरी कार्यक्रम तथा गतिविधिहरू गर्ने बताइएको छ ।

पर्यटन पुनरुत्थानका लागि देश दर्शन कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाउन प्रयास गरेको बताए ।

उहाॅंले कोभिडपछि नियमित उडान गर्नेमा नेपाल दक्षिण एशियामै पहिलो मुलुक भएको दाबी गर्दै अन्तरराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउने वातावरण बनाइने जानकारी दिनुभयो ।आर्थीक अभियान