नेपालमा युगान्डाबाट पनि भित्रिन्छ आँप

Image Not Foundकाठमाडौं,आषाढ,२५-अफ्रिकी मुलुक युगान्डाबाट पनि नेपालमा आँप भित्रिने गरेको छ ।चालू आर्थिक वर्षको ११ महीना (२०७८ साउन-२०७९ जेठसम्म) मा नेपालले १ लाख ३८ हजार रूपैयाँ बराबरको आँप आयात गरेको छ ।

उक्त अवधिमा युगान्डाबाट २४० किलोग्राम आँप भित्रिएको विभागको तथ्यांक छ । युगान्डासँगै नेपालमा अन्य देशहरूबाट पनि आँप आयात हुने गरेको छ । 

कुन देशबाट कति आयात ? 

नेपालमा भारत, थाइल्यान्ड, फिलिपिन्स, सिंगापुरलगायत देशबाट आँप भित्रिने गरेको छ । तीमध्ये ठूलो हिस्सा भारतबाटै आयात हुने गरेको छ ।

चालू आर्थिक वर्षको ११ महिना (२०७८ साउन–२०७९ जेठसम्म) मा नेपालले भारतबाट ७१ करोड ७३ लाख २६ हजार रूपैयाँको १ करोड ४८ लाख ५२ हजार ८९ किलोग्राम आँप आयात गरेको छ । यो उक्त अवधिमा भएको कूल आयातको ९९ दशमलव ९६ प्रतिशत हो । 

यस अवधिमा नेपालले ७१ करोड ७५ लाख ९४ हजार रूपैयाँको १ करोड ४८ लाख ५२ हजार ६३० किलोग्राम आँप आयात गरेको विभागले जनाएको छ । 

अन्य देशबाट गरिने आयात नगन्यरूपमा छ । विभागको तथ्यांक अनुसार नेपालले चालू आर्थिक वर्षको ११ महीनामा थाइल्यान्डबाट १ लाख २९ हजार रूपैयाँको ३०० किलोग्राम आँप भित्र्याएको छ । 

नेपालले फिलिपिन्स र सिंगापुरबाटसमेत आँप आयात गर्ने गरेको छ । तर, यो वर्ष ती देशहरूबाट आँप आयात भएको छैन । 

युगान्डाको महँगो, भारतको सस्तो 

नेपालले आयात गर्ने आँपमध्ये सबैभन्दा महँगो युगान्डाको रहेको छ । चालू आर्थिक वर्षको ११ महीनामा युगान्डाबाट भित्रिएको आँपको मूल्य प्रतिकिलोग्राम ५७५ रूपैयाँ परेकाे छ । यो रकम युगान्डाबाट आयात भएको आँपको मूल्यलाई परिणामले भाग गरी निकालिएको हो ।

यस्तै, भारतबाट आयात हुने आँप सस्तो पर्ने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको ११ महीनामा भारतबाट आयात भएको आँपको मूल्य प्रतिकिलोग्राम ४८ रूपैयाँ २९ पैसा परेको छ । त्यसैगरी,थाइल्यान्डबाट भित्रिने आँपको मूल्य ४ सय ३० रूपैयाँ परेको विभागले जनाएको छ ।