साफ यू-२० आजबाट : नेपाल र माल्दिभ्स भिड्ने

साफ यू-२० : माल्दिभ्सको सामना गर्दै नेपालभारत,साउन,९-साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आज सोमबारबाट भारतको भुवनेश्वरमा सुरु हुँदैछ।

कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

त्यसैले नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ ।

‘यस खेलका लागि हामीले मेहेनत गरेका छौँ । माल्दिभ्सविरुद्धको खेलमा हामीले ३ अंक प्राप्त गर्ने छौँ । हामी गोर्खाली हौँ अन्तिमसम्म फाइट गर्छौं,’ माल्दिभ्ससँगको खेल अघि नेपाली टोलीका कप्तान आयुष घलानले भनेका छन्,’ हामीलाई गुमाउनु केहि छैन त्यसैले दबाबबिना खेल्छौं ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताउनुभयो ।

‘हामीले साढे एक महिना तयारी गरेका छौँ । तयारी राम्रो भएको छ तर, साफको उमेर समूहको टिमबारे अनविज्ञ छौँ । तर, साफका लागि हामीले उत्कृष्ट टिम बनाएका छौँ,’ प्रशिक्षक केसीले भन्नुभयो, ‘टोलीमा मेहनती खेलाडी छन् । हामीले गरेको तयारी र मेहनत अनुसार हामी यस प्रतियोगिताको उपाधि दाबेदार नै हौँ ।’

माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपालविरुद्ध कठिन भएपनि उत्कृष्ट खेल्ने बताउनुभयो ।

‘हाम्रो अधिकांश खेलाडीहरु माल्दिभ्सको‌ प्रिमियर लिगमा खेलिरहेका छन् । फिटनेसको हिसाबमा हामी अब्बल छौँ । किनकी खेलाडी लगातार खेलिरहेका छन् । हामीसँग भएको समय र स्रोतको हिसाबले तयारी राम्रो छ । हामी राम्रो गर्ने बताउनुभयो ।

च्याम्पियनसिप अन्तर्गत नै सोमबार हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।