भारत,साउन,९-नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।
माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।
कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो ।खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।
माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् ।
त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए ।
त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो ।
जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । खेलपाटीबाट