बाँकेको टिटिहिरीयालाई पर्सि बालमैत्री गाविस घोषणा गरिने : ३९ वटै सूचाङ्क पूरा

मधुपौडेल
बाँके,माघ २७-बाँकेको टिटिहिरीया गाविसलाई पर्सि २९ गते बाँकेको पहिलो बालमैत्री गाविस घोषणा गरिने भएको छ । मध्यपश्चिमकै दोश्रो गाविसका रुपमा टिटिहिरीया गाविसलाई बालमैत्री गाविस घोषणा गर्न लागिएको हो । गाविसले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जनाएको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले एक समारोहकाबीच बालमैत्री गाविस घोषणा गर्ने कार्यक्रम छ ।

बाल सहभागीता, बाल विकास, बाल बचाउँ, बाल संरक्षण लगायतका ३९ वटा र एउटा स्थानिय सूचक पूरा भएपछि गाविसलाई बालमैत्री गाविस घोषणा गर्न लागिएको गाविस सचिव तप्पराज आचार्यले जानकारी दिनुभयो । गाविस र जिल्ला विकास समितिको आर्थिक लगानीमा बालमैत्री घोषणा गर्न लागिएको हो ।

२०६८ सालको जनगणना अनुसार टिटिहिरियामा १० हजार ९ सय ६० जनसङ्ख्या रहेकोमा ३ हजार ९ सय ५२ जना १८ वर्षमुनिका बालबालिका छन । टिटिहिरीया गाविसपछि वनकटुवा, सीतापुर, चिसापानी र महादेवपुरी गाविसलाई पनि बालमैत्री गाविस घोषणाको तयारी गरिएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।