काठमाडौंमा बसिरहेकालाई दशैंमा गाउँ नजान सरकारको आग्रह

फाईल तस्विर !!

काठमाडौं,असोज,२१-सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान सल्लाह दिएको छ।कोरोनाको अत्यधिक संक्रमण बढेको भन्दै काठमाडौंमा बसिरहेकाहरुलाई गाउँ नजान सल्लाह दिएको हो ।

असोज १७ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाने फर्किने गर्दा संक्रमण दुबैतर्फ फैलनसक्ने भन्दै काठमाडौंबाट गाउँ नजान आग्रह गर्नुभएको हो ।

अरु जिल्लामा संक्रमण नियन्त्रणको दिशामा रहेको भन्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘अरू जिल्लामा कोभिड–१९ क्रमशः नियन्त्रणमा आइरहेको भए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममा छ । देशभरिमा थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन्।यस्तो बेलामा दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ ।’

६० वर्षभन्दा बढी उमेरका मानिस कोरोना संक्रमणबाट बढी जोखिममा रहेकाले आफ्ना अभिभावकलाई जोखिममा नपार्न उहाँको सल्लाह छ ।

केहि दिनमा आउने दशैंमा काठमाडौंबाट गाउँ गएर आशिर्वाद लिन चाहँदा बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीको स्वास्थ्य जोखिममा पर्नसक्नेमा सतर्क रहन उहाँको सल्लाह थियो ।