एमसीसी पास भएपछि माओवादीमा विभाजनको खतरा

प्रचण्ड र नारायणकाजीबीच आज पनि छलफल हुँदै

काठमाडौं,फागुन,१८-प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ ।

एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ ।

 

एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका नेताहरु पार्टीबाट बाहिरने खतरा बढेको छ।उनीहरुलाई पार्टीभित्रै थाम्ने चुनौती आएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व एकता केन्द्र समूहका नेता नारायणकाजी श्रेष्ठलाई फकाउने प्रयास थाल्नुभएको छ ।

प्रचण्ड मंगलबार श्रेष्ठको निवासमै पुगेर मतभेदलाई पार्टीमै बसेर छलफल गर्न तर पार्टी नछाड्न आग्रह गर्नुभयो।श्रेष्ठले भने एमसीसीको विपक्षमा रहेकाहरुलाई पार्टी छाडेर जान स्वतन्त्र रहेको भन्ने प्रचण्डको भनाइले आशंका उब्जाएको जवाफ दिनुभएको थियो ।प्रचण्डले आज पनि श्रेष्ठसँग छलफल गर्दै हुनुहुन्छ । एमसीसी अनुमोदनपछि माओवादीको तल्लो तहमा पनि असन्तुष्टि चुलिएको छ ।