प्रदेश नं. ७ को राजधानी धनगढी तोकेसंगै डोटीको दिपायलमा तनाव

आन्दोलन आक्रमक हुने भनाई

डोटी,माघ,३-

नेपाल सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढी तोकेसँगै डोटीको दिपायलमा तानव सिर्जना भएको छ । यस अघि नै राजधानीको माग गर्दै आन्दोलन जारी राखेको दिपायलमा नागरिकहरु सडकमा उत्रिएका छन् ।

आन्दोलन संयोजन समितिले अनिश्चितकालीन डोटी बन्दको घोषणा गरेको छ भने नागरिकहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।

सरकारको निर्णय बाहिर आएसँगै दिपाय बजारमा आन्दोलनकारीहरु आक्रामक भएका छन् । सरकारको निर्णय परिवर्तन नभएसम्म बन्दको आन्दोलन जारी राख्ने संयोजन समिति तथा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

‘हामीले पटक पटक शान्तिपूर्ण रुपमा सरकारलाई दवाव दिने काम गर्‍यौं तर सरकारले हाम्रो आवाज सुनेन’ खड्काले भन्नुभयो ‘सरकारको यो निर्णय परिवर्तन नभएसम्म अव आन्दोलन रोकिदैन ।’

आन्दोलन आक्रामक बन्दै गएकोले नियन्त्रणमा राख्न नसकिने स्थिति आएको समितिका सदस्य दीपक खड्काले बताउनुभयो । ‘अब आन्दोलन रोकौं भन्न सक्ने हिम्मतनै कसैसँग छैन, आन्दोलन आक्रामक हुने उहाँले बताउनुभयो । साभार अनलाईन खबरबाट