जापानीज संगै विदेशीहरु साकुराको सौन्दर्यतामा रमाउदै

के “साकुरा” फूल र पैयुँ एउटै हो ?

फाईल तस्विर : जापानीज संगै विदेशीहरु पनि साकुरा फूल हेर्दै रमाउदै ॥

टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ।“साकुरा” जापानको राष्ट्रिय फूल पनि हो।

जापानले सन् १९९२ देखि मार्च  २७  लाई साकुरा दिवसका रूपमा मनाउँदै आईरहेको छ।यहाँ साकुरालाई शान्तिको प्रतीक मानिन्छ।

वसन्त ऋतुको आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो,पार्क, वनजंगल,घरअगाडीका बगैँचाहरू “साकुरा” फूलले सेताम्मे र राताम्मे फुलेका देखिन्छन्।जापानमा हाल ६०० प्रजातिका “साकुरा” फूलहरु पाईन्छ।“साकुरा” फूलले यतिबेला छुट्टै विशेषता र सौन्दर्य थपेको छ।

जापानमा “साकुरा फुल्ने समयमा यसले वातावरणीय सौन्दर्यसँगै पर्यटन प्रवर्द्धनका लागि पनि टेवा पुर्‍याएको छ। साकुरा फुलेपछि त्यसको अवलोकन गर्न ठूलो भीड लाग्ने गर्दछ।जापानीज र यहाँ रहेका विदेशीहरु पनि साकुराको सौन्दर्यतामा एकै साथ रमाउने गर्दछन्।जापानमा रहेको नेपाली समुदाय त झन् यो परिवेशमा पूरै परिचित र घुलमिल हुँदै साकुराप्रति अपनत्व महसुस गर्न थालिसकेका छन्।

जापानी परम्पराअनुसार परिवारजन,साथीभाइ तथा प्रेमी-प्रेमिकासँग साकुराको फूलको फेदमुनि बसेर फूलको सौन्दर्यको आनन्द लिदै मीठा-मीठा परिकार र पेय पदार्थसँगै खाना खाएमा वर्षभरी नै सुखशान्ति हुने विश्वास गरिन्छ।

जापानमा यसलाई स्थानीय भाषामा ‘हाना’ को अर्थ फूल हो।‘मी’ को अर्थ हेर्नु हो।भावको हिसाबले यसको पूरा अर्थ फूल हेर्ने उत्सवको रूपमा बुझिन्छ।जापानीहरु यस मौसममा साकुरासँगै ‘हानामी’मा फूलको बँगैचामा भुइँमा बसेर एकआपसमा खुलेर कुरा गर्ने गर्छन्।जापानीले यसलाई विशेष अवसरका रुपमा समेत लिने गरेका छन्।

जापानमा साकुरा फूलको वसन्तको पहिलो आगमनको सूचना दिने रूख यही हो भन्ने बुझिन्छ।साकुराले आफ्ना शरीरभरि यसरी फूलैफूलले भरिन्छिन्, जसलाई हेर्नेबित्तिकै हर कसैको मुखमा ‘वाह’ शब्द ननिस्की धर नै पाउँदैन।साकुरा फूल्ने समयमा सायद जो कोहीको क्यामेरामा यो फूल कैद नभएको सायदै नहोला।यो समय सामाजीक संजाल फेसबुक ईन्स्टाग्राम,एक्स,टिकटकमा साकुराको फोटो र भिडीयो बनाएर नहाल्ने सायदै विरलै होला।

हाल साकुराको गरिमा जापानमा मात्रै सीमित छैन। यसप्रतिको आकर्षण र रौनक विश्वभरि फैलिएको छ। जापानले विश्वमा शान्ति र भाइचाराको सिद्धान्तस्वरूप धेरै मुलुकलाई ‘साकुरा’ का बिरुवा उपहारस्वरूप दिने गरेको छ।

जापानले नेपालमा पनि “साकुरा” फूलको वृक्षारोपण गरेको छ।

जापानले वि.सं २०७४ मा  नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल पठाएको थियो।विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले वि.सं २०७४ सालमा मात्र नेपाल लगायत २३ देशका ३५ शहरमा साकुरा रोपेका थिए।नेपालमा उक्त वर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको थियो।

नेपालमा साकुरा रोप्न पुगेका चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका थिए।नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जनाको वृद्धको समूह नेपाल पुगेको थियो।

पुष्परोपण शुरुवात गर्दै नेपालका लागि तत्कालीन नेपाल स्थित जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको बताउनुभएको थियो।

जापानको “साकुरा” र नेपालमा पाईने “पैयुँ” विच फरक

जापानमा पाईने “साकुरा फूल” र नेपालमा पाईने पैँयो हेर्दा उस्तै देखिन्छ।तर यी दुई विच भिन्नता भने धेरै नै फरक रहेको छ।मुलतःयी दुई फूलका बोट फरक फरक जातीका हुन।अब भने हामी हामी साकुरा र पैयुँ विच संक्षिप्तमा चर्चा गर्छौ। 

“साकुरा”

जापानमा पाईने साकुरा मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म फूल्ने फूल हो।जापानमा मात्र हाल ६०० प्रजातीका साकुरा पाईन्छ।तर मानिसको ध्यान यसका मुख्य चार प्रजातिमा छ।

योसिनो सोमेई, विपिङ चेरी, याएजाकुरा र खान्जाकुरा प्रमुख प्रजाति हुन्, जसको रङ र फुल्ने शैली अनि समय फरक छन्।अधिकांश साकुरा मार्च अप्रिलमा फुल्ने भए पनि ठाउँअनुसार फरक-फरक महिनामा फुल्ने गरेको पाइन्छ।खान्जाकुरा जनवरीको पहिलो हप्तादेखि नै फुल्ने गर्दछ।साकुरा फूल्ने मात्र गर्छ यसले फल भने दिदैँन।जापान सरकारले साकुरा फूलको सरकारी स्तरबाटै संरक्षण र वृक्षारोपण गर्दै आईरहेको छ।

“पैयुँ”

नेपालमा हेमन्त ऋतुको सुरुआत भएसँगै “अर्थात” कात्तिक लाग्न सुरु भएपछि पैयुँ ढकमक्क फुल्न थाल्छ।हिउँदको सुरुवातसँगै फूलहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानी समेत भनिन्छ। यो फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ।पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँ खेती गर्ने याम सुरु भएको समेत विश्वास गरिन्छ।पैयुँको बिरुवा कसैसँग आयत गरेर ल्याएको बिरुवा नभएको र नेपालको रैथाने वनस्पति मानिन्छ।यो नेपालको पहाडी क्षेत्रमा पाइन्छ।

नेपालको पैयुँभनिने जापानको साकुरा अमेरिकाको चेरी भनेर चिनिन्छ।तर यीनीहरुको जातमा भने फरक रहेको छ।सबैको कुरा मिले पनि नेपालमा पाईने पैयुँले फल दिन्छ,भने अमेरिका र जापानमा पाईने साकुराले फल भने दिदैन्।खासगरी अप्रिलमा फुल्नुपर्ने यो फुल विश्व तापमानको कारण मार्चमै फुल्ने क्रम देखिएको अध्ययन अनुसन्धानहरुले देखाएको छ।नेपालमा पाईने पैयुँको फल चराचुरङ्गी र फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ।

‘‘विवाह गर्दा पैयुँ चाहिने, पूजाआजा गर्दा पैयुँचाहिने, कुल पूजा गर्दा समेत मौलो पैँयुकै हाल्नुपर्ने हुन्छ।तर अहिले यसको बोट नेपालमा हराउन थालेपछि हाम्रो संस्कृतिमा समेत असर पर्न थालेको छ।’’नेपालका पहाडी क्षेत्रमा पाइने पैँयुलगायत वनस्पतिहरु हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनाका कारण जलवायु परिवर्तनको असर भए पनि विश्वका विभिन्न देशमा विभिन्न अध्ययनहरु भइरहेको भए पनि नेपालमा त्यति महत्व दिइएको पाइँदैन।

पैयुँ संरक्षण, वृक्षारोपण तथा गुराँस संरक्षणमा सरकारले केही प्रयास गरे पनि पर्याप्त भने नभएको विज्ञहरु बताउँछन्।पैयुँ नेपालका पहाडी क्षेत्रका वनहरुमा आफैँ उम्रिने बिरुवा भए पनि अहिले लोप हुन थालेका छन्।दुर्लभ सारु मगर ॥