सभामुख र विपक्षी दलको नेता बिनै बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक

फाईल तस्विर : सूर्य थापाको ट्विटर पेजबाट !!

काठमाडौं,वैशाख,२६-सभामुख र विपक्षी दलको नेताको उपस्थिति बिनै प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ ।

प्रधानमन्त्री एवं परिषद अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित हुनुभएन ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विवादित संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने उपस्थित हुनुभएको छ ।

बहुमत सदस्यको उपस्थितिमा पनि परिषद बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उहाँले प्रधानमन्त्री ओलीलाई साथ दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेको तस्वीरमा बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना उपस्थित हुनुहुन्छ ।

संवैधानिक परिषदको बैठकमा सबै सदस्य उपस्थित हुनुपर्ने र सर्वसम्मतिले निर्णय गर्नुपर्ने ऐनको व्यवस्था बदलेर बहुमत सदस्यको उपस्थितिमै निर्णय गर्न सकिने विवादित अध्यादेश पटक पटक जारी गरी प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुमा भटाभट नियुक्तिहरु गर्दै आउनुभएको छ ।

यसअघि पनि उहाँले सोही अध्यदेशमा टेकेर आफूनुकूलका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नुभएको थियो ।

यस पटक पनि रिक्त रहेका लोक सेवा आयोगलगायत निकायमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद बैठक राख्नुभएको हो ।