महन्थ र महतो पुगे बूढानीलकण्ठ, देउवासँग डेढ घण्टा छलफल

फाईल तस्विर !!
काठमाडौं,बैशाख,२६-प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँगको भेटवार्ताहरु तीव्र पार्नु भएको छ ।

यसै क्रममा उहाँले आज आइतबार बिहान जनता समाजवादी पार्टी (राजपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गर्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पनि मत नदिएर तटस्थ बस्ने तयारीमा रहेका जसपा अध्यक्ष ठाकुरले वरिष्ठ नेता महतोलाई समेत लिएर काङ्ग्रेस सभापति देउवासंग डेढघन्टा छलफल गर्नु भएको छ ।

देउवाको बूढानीलकण्ठ निवासमा तीन नेताबीच बिहान ९ देखि साढे ११ बजेसम्म छलफल भएको थियो।

जसपाकै कारण बहुमत सांसदको हस्ताक्षर बुझाउन रोकिएका देउवासंग ठाकुर र महतोको भेट महत्वपूर्ण हुने देखिन्छ।

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका ठाकुर र महतो पछिल्लो समय देउवासँग वार्तामा सहभागी हुन थालेका हुन्।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीलाई हटाएर कांग्रस, माओवादी, जसपा र एमालेका असन्तुष्ट पक्ष मिली नयाँ गठबन्धन बनाउने पक्षमा थियो।