माओवादी र समाजवादीलाई एकतामा आउन योगेश भट्टराईको आग्रह

काठमाडौं,साउन,३-नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गर्नुभएको छ ।

मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको दक्ष जनशक्तिसम्बन्धी अन्तरक्रियामा एमाले सचिव भट्टराईले यस्तो आग्रह गर्नुभएको हो।उहाँले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताउनुभयो । विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उहाँले अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने बताउनुभयो ।

भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिनुभयो।उहाँले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा पनि जोड दिनुभयो ।

सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताउनुभयो।उहाँले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यस्तो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताउनुभयो ।