शिक्षामन्त्री र काठमाडौंका मेयरबीच भेटवार्ता, मेयरले मागे ५० करोड

काठमाडौं,साउन,३-शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

मंगलबार मन्त्रालयमा भएको भेटमा मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको जानकारी दिँदै डिजिटल बोर्डको आवश्यकता रहेको बताउनुभयो ।

मेयर शाहले शिक्षामन्त्री पौडलेसमक्ष बोर्डका लागि ५० करोड रुपैयाँको बजेट व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ बालेन्द्र शाहले भन्नुभयो, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमा व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुपर्‍यो ।’

बालेन्द्र शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गाह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।

भेटमा मन्त्री पौडेलले शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गर्नुभयो । काठमाडौं महानगरभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री पौडेलले काठमाडौं महानगरभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रअ राख्दा महानगरले ध्यान दिनुपर्ने बताउनुभयो ।

महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री पौडेलले विद्यार्थीलाई पढाएर मात्र नहुने भएकाले होम भिजिट गर्नुपर्नेमा जोड दिनुभयो ।