आज नेपाल लगायत विश्वभर ख्रीष्टमस दिवस मनाईंदै

काठमाडौं, पुस,१०-

क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा विश्वभर ख्रीष्टमस दिवस मनाइँदैछ । आज नेपालका चर्चमा पनी प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाईेको हो । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु-स्वास्थ्यको कामना गरिन्छ ।

येशू ख्रीष्टको शुभ जन्मदिनको खुशीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ । २०६२/६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।

सरकारले आज राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक बिदा घोषणा गरेको छ । नेपालको ख्रीष्टियन इतिहास चार सय वर्षभन्दा पुरानो छ ।

राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए ।हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ ।

ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले ख्रीष्टमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।