माओवादी केन्द्र एकढिक्का भएको छ : अध्यक्ष दाहाल

तीन महिने अभियानमा म आफैं ७ वटा वडामा जान्छु प्रचण्ड

काठमाडौं,साउन,२१-प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र पार्टी एकढिक्का र भावनात्मक रुपले एकजुट भएको बताउनुभएको छ।

आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य राख्दै अध्यक्ष दाहालले यस केन्द्रीय कमिटी बैठकपछि पार्टी एक ढिक्का भएको बताउनुभएको हो।उहाँले नेताहरु भावनात्मक रुपले पनि एकजुट भएको भन्दै माओवादी केन्द्र पुनः जाग्ने बताउनुभयो।

अध्यक्ष दाहालले पार्टीले देशको नेतृत्व लिनेगरी अगाडी बढ्ने बताउनुभयो।उहाँले पार्टी विधि, पद्धतीभन्दा बाहिर नजाने बताउनुभयो।उहाँले सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडी बढ्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान ३ महिना सञ्चालन गर्ने जानकारी दिदैँ आफु पनि सो अभियान अन्तर्गत ७ प्रदेशको ७ वटा वडामा पुग्ने बताउनुभयो। उहाँले सो अभियानका क्रममा माओवादी केन्द्रका शुभचिन्तकको मात्रै नभई सबै नेपाली जनताको घर-घरमा नेता, कार्यकर्ताहरु पुग्ने बताउनुभयो।

उहाँले गाउँ–गाउँका एउटा पनि घर नबिराई जनताको घरमा पुग्न र जनताको कुरा सुन्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।अध्यक्ष दाहालले तिन महिने विशेष अभियानपछि पार्टीको विधान अधिवेशन गर्ने पनि जानकारी दिनुभयो।