नेपाली राष्ट्रिय क्रिकेट टिमबाट शुक्रबार मात्र सन्न्यासको घोषणा गरेको भोलीपल्ट ज्ञानेन्द्र मल्ल बेलायत पुगे

काठमाडौं,साउन,२१-नेपाली राष्ट्रिय क्रिकेट टिमबाट शुक्रबार मात्र सन्न्यासको घोषणा गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल शनिबार बेलायत पुगेका छन्।लन्डनमा नेपाली समुदायले आयोजना गर्ने ब्रिटिश नेप्लिज प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुन ज्ञानेन्द्र बेलायत पुग्नु भएको छ।

अगष्ट ६ बाट हुने प्रतियोगिताको मुख्य आयोजक केटिएम ट्राभल एन्ड टुर्सले ज्ञोनन्द्र मल्ललाई लिगको विशेष अतिथिका रुपमा लन्डन लगेको हो।मल्लले यूकेमा रहेका नेपालीहरुबीच हातेमालो गर्दै क्रिकेटको लागि केही योगदान गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो।

ज्ञानेन्द्रलाई विमानस्थलमा केटिएम ट्राभल एन्ड टुर्सका अपरेसन डाइरेक्टर सुनिल थापा, टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडा, मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईलगायतले स्वागत गर्नु भएको थियो।

ब्रिटिश नेप्लिज प्रिमियर लिगको दोस्रो संस्करणको प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

बेलायतमा नेपाली समुदायले गरेकामध्ये सबैभन्दा ठूलो पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टिमलाई २५५० पाउण्ड र दोस्रो हुनेलाई १००० पाउन्ड नगद तथा ट्रफी दिने बताइएको छ ।