भारतको रुपैडिहा बजारमा एक नेपाली युवाको शवं फेला

डम्मर थापा मगर/

बाँके, पुस ९-
भारतको रुपैडिहा बजारमा एक नेपाली युवाको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर भारतीय भुमिमा नेपाली युवा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार भारतको रुपैडिहामा रहेको पेट्रोलपम्प नजिकै वेवारिसे अवस्थामा युवाको शवं आज दिउँसो फेला परेको हो ।

मृतकको खल्तीमा भेटिएको बसको टिकटको आधारमा नेपाली नागरिक भएको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरेको थियो ।

भारतीय प्रहरीका अनुसार मृतकको गोजिमा भेटिएको बसको टिकटमा नाम पुर्णमान श्रेष्ठ लेखिएको छ । टिकटमा बुटवलदेखि नेपालगन्जसम्म आएको देखिएको छ ।